दैलेख – प्रेस यूनियन नेपालको दैलेख शाखाको ८ औं जिल्ला अधिवेशन अभिषेक अनुरागलाई सभापतिमा दोहो¥याउँदै ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेर सम्पन्न भएको छ । उपसभापतिमा गणेश शाही, सचिव भीम सिजापति र कोषाध्यक्षमा जीवन आचार्य हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता लेखनाथ केसीले जानकारी दिनुभयाे ।
प्रेस युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपानेले प्रेस युनियनलाई पत्रकारको पेशागत हकहित, क्षमता विकास र संस्थागत एकताका लागि अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारमाथि हुने दबाब, धम्की र असुरक्षाका विषयमा संगठनले सशक्त रूपमा आवाज उठाउँदै पत्रकारको पेशागत स्वतन्त्रताको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मीले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पार्टी र प्रेसबीचको सम्बन्ध लोकतान्त्रिक मूल्य, विचार र जनताको पक्षमा आधारित हुनुपर्ने उल्लेख गर्दै प्रेस युनियनमा आबद्ध पत्रकारले सत्य, तथ्य र निष्पक्षतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सामाजिक विकासका मुद्दालाई जनतासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, बालअधिकार, महिला तथा पछाडि पारिएका समुदायका सवाललाई प्राथमिकताका साथ उठाउँदै सरकारलाई जवाफदेही बनाउन पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो ।
पूर्वमन्त्री घनश्याम भण्डारीले पत्रकारिता समाजको ऐना भएकाले पत्रकारले आफ्नो पेशागत मर्यादा र विश्वसनीयता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले बदलिँदो प्रविधि र सामाजिक सञ्जालको प्रभावसँगै पत्रकारितामा चुनौती थपिँदै गएको उल्लेख गर्दै तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमलप्रसाद शर्माले जिल्लाको पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन पत्रकारका विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धि, श्रमजीवी पत्रकारको अधिकार र पत्रकारिताको गुणस्तर सुधारका लागि साझा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी दैलेखका जिल्ला अध्यक्ष उदयराज अधिकारीले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न राजनीतिक आस्था फरक भए पनि पत्रकारका साझा मुद्दामा सबै संगठन एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले जिल्लाको पत्रकारितालाई थप बलियो बनाउन स्वस्थ प्रतिस्पर्धासँगै आपसी सहकार्य र पेशागत एकता आवश्यक रहेको धारणा राख्नुभयो ।









प्रतिक्रिया दिनुहोस्