२०८३ जेठ २३ , शनिबार (2026 Jun 7, Sunday)

बाटोमै पुगेर उपचार !



दैलेख – दयालु मानिसले आफूलाई भेट्न आएकाहरुलाई उपकार गर्नु छ भने भेटिएकै ठाउँमा आवश्यक सहयोग गर्छन् नै । परोपकारी मन भएका र जिम्मेवारी बोध गर्नेहरु जहाँ पीडित छन् त्यहाँ पुगेर आफूले सक्ने दिलोज्यान दिएर सहयोग गर्छन् । अँझ स्वास्थ्यकर्मीले गर्ने त्यस्तो भावनात्मक सहयोगले धेरै विरामीहरुको ज्यान बचाएका छन् ।

यस्तै इच्छाशक्तिका साथ दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्माको टोलीले बुधबार दिउँसाे सामाजिक विवादमा धारिलो हतियारले झण्डै छिनालिने गरी देब्रे हातकाे नाडीमा गम्भीर चोट लागेका घाइतेलाई अस्पताल तर्फ ल्याइँदै गरेकाे थाहा पाएर आधा बाटोमा पुगेर उपचार गरेको छ । बाटोमै पुगेर गरिएको उपचारले ज्यान बाँच्ने आशा जगाएको छ ।

गाउँमा भएको एक सामान्य विवादमा साथीले हातै छिनाल्ने उद्देश्यले आठबीस नगरपालिका-७ गैराखेतका २७ वर्षीय जीवन चन्द माथि भएको धारिलो हतियार प्रहारबाट गम्भीर चोट लागेको र घाइतेलाई अस्पताल ल्याउदै गरेको भन्ने जानकारीको आधारमा सदरमुकामबाट सात्तलाको पुलबजार पुगेर चल्दै गरेको एम्बुलेन्समा प्राथमिक उपचार गरी डा. बिश्वकर्माको टोलीले थप उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा लैजान सिफारिस गरेको थियो ।

बाटोमै पुगेर डा. बिश्वकर्माको टोलीले प्राथमिक उपचार गरेको कारण घाइतेको मनोबल बढेको, आफन्तहरुलाई पनि सरकारी तत्परताप्रति भरोसा जागेको र सुर्खेत पुर्‍याई उपचार पनि थालिएको घाइतेका आफन्तहरुले बताएका छन् । दैलेख अस्पतालको टोलीले गरेको प्राथमिक उपचारले बिरामीलाई धेरै सहज भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा. इश्वर बलामीले बताउनुभयो । ‘हात लागिहाल्छ, हामी जुटेका छौं’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार