२०८३ कात्तिक २४ , सोमबार (2026 Nov 9, Monday)

बोलेरो दुर्घटनाका घाइते चालकको पनि मृत्यू



दैलेख – कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा बोलेरो दुर्घटनामा घाइते भएका चालकको पनि उपचारका क्रममा मृत्यू भएको छ । बाेलेराेमा सवार ६ जना घाइते मध्ये साेमबार बिहान उपचारकै क्रममा एक जनाको मृत्यू भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते बाेलेराे चालक कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

यसअघि दुर्घटनामा सोही ठाउँका ४१ वर्षीय रने सार्कीको पनि उपचारका क्रममा मृत्यू भएको थियो । कालिकोटबाट बिरामी लिएर सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो काफलतोलीमा सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते सान्नीत्रिवेणी गाउँपालिका–७ का १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्कीको उपचार भइरहेको छ । घरमै विषादी सेवन गरेकी कैसी सार्कीलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बोलेरो दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २४ गते सोमबार