दैलेख – भैरबी गाउँपालिकामा आयोजित प्रथम वडास्तरीय भलिबल कप २०८३ को उपाधि आयोजक वडा नं. ४ ‘ए’ ले जितेको छ । प्रतियोगितामा नौ टोली सहभागी थिए ।
प्रतियोगितामा भैरबी स्पोर्ट्स क्लब वडा नं. ५ ‘बी’ दोस्रो र वडा नं. २ तेस्रो भएका छन् । आयोजक वडा नं. ४ ‘बी’ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा दिनेश शाही सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रेम शाही उत्कृष्ट लिबरो र कृष्ण केसी अनुशासित खेलाडी घोषित हुनुभयो ।
विजेता, उपविजेता तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी भण्डारी, वडा नं. ४ का अध्यक्ष चक्रप्रसाद शर्मा, वडा नं. ५ का अध्यक्ष रत्नबहादुर थापा, वडा नं. ३ का अध्यक्ष भक्तिप्रसाद उपाध्याय र कर्णाली प्रदेशका पूर्वप्रदेशसभा सदस्य सुशील थापालगायतको उपस्थिति थियो ।
सिलङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य समन्वय तथा आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक भैरबीस्थित न्यू पञ्चकोशी बिल्डर्स प्रा.लि. रहेको थियो । प्रा.लि.का प्रबन्धक आशिषकुमार थापा हुनुहुन्छ ।
प्रतियोगिता सञ्चालनका लागि भैरबी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ७ का वडा कार्यालयसहित विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिले आर्थिक र भौतिक सहयोग गरेका थिए ।
दुई वर्षदेखि भैरबीमा खेलकुद गतिविधि हुन नसकेको अवस्थामा स्थानीय युवा तथा बुद्धिजीवीको पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।
यसले स्थानीयस्तरमा खेलकुदको विकास र युवा प्रतिभाको पहिचानमा सहयोग पुग्ने विश्वास गरिएको छ । समापन समारोहको अध्यक्षता सिलङ्गी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललित अधिकारीले गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्