२०८३ असोज २६ , सोमबार (2026 Oct 12, Monday)

रोहितको ऐतिहासिक शतक



कप्तान रोहितकुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा भएको खेलमा जित निकालेसँगै नेपाल अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । जवाफमा २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटिएपछि नेपाल विजयी भएको हो ।

नेपालका लागि रोहितले १२५ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो । यससँगै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

शुरुवाती तीन विकेट छिट्टै गुमाएको नेपाललाई रोहितले बसिर अहमदसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गर्दै सम्हाले । बसिरले ३० रन बनाए भने गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन जोडे । क्यानडाका अखिल कुमारले चार विकेट लिए ।

लक्ष्य पछ्याएको क्यानडाका आरोन जोहनसनले ४४, समित गोहेलले ३५ र अखिल कुमारले अविजित ३० रन बनाए । नेपालका सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए ।

जितसँगै नेपालले ३३ खेलबाट १२ जित र २६ अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा उक्लिँदा २५ अङ्क रहेको क्यानडा सातौँ स्थानमा झरेको छ । रोहितले यसअघि पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्सविरुद्ध पनि एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार