गोरखा – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ ।
सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९, यारुबाट ९ र पायुबाट १२ जनाको उद्धार गरिएको छ । यारुबाट उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् । सम्पर्कविहीन हुनेमा पाँच जना चौँरी गोठाला रहेको बताइएको छ ।
बाढी पूर्वानुमान महाशाखाले पहिरोका कारण नदी थुनिएर पानीको बहाव खुलेपछि बाढी आएको प्रारम्भिक अनुमान गरेको छ । बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा ठूलो बाढी आउने गरी वर्षा नभएको महाशाखाले जनाएको छ ।
उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएका छन् । अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेको नेपाली सेनाकाे जंगी अड्डाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्