२०८३ असोज २५ , आइतबार (2026 Oct 11, Sunday)

बूढीगण्डकीमा आकस्मिक बाढी 



गाेरखा – गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदीमा सुक्खा पहिरोले थुनिएको बहाव खुलेपछि लेदोसहितको आकस्मिक बाढी आएको छ । आइतबार बिहान नदी थुनिएको र पछि एकै पटक खुलेर निस्केकाे बाढीले ठूलाे क्षति पु¥याएको‍ गाेरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयाे ।

सेनाको नम्बर ३ बाहिनी अड्डामा बिहान ५ः५५ बजे नदी थुनिएको सूचना पुगेपछि रुद्रध्वज गणको टोलीले घटनास्थलको रेकी गरेको थियो । टोलीले फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरे पनि बाढीको वास्तविक कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ड्रोनसहितको टोली परिचालन गरेको छ ।

बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा दुईवटा झोलुंगे पुल बगाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ । एउटा कच्ची घर बगेको, आठ घर र आठ टहरामा बाढी पसेको तथा २२ घर जोखिममा रहेको जनाइएको छ ।

बाढीबाट हालसम्म मानवीय क्षतिको खबर प्राप्त नभए पनि नेपाली सेनाको हेलिकप्टरमार्फत चुमनुब्री–३ को जगतबाट छ जनाको सकुशल उद्धार गरिएको छ । बाढीको उद्गम र क्षतिको विस्तृत विवरण संकलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार