२०८२ असार १२ , बिहीबार (2025 Jun 26, Thursday)

पुरस्कारमा छात्राको हावी



पुरस्कार विजेता आरती , चन्द्रा र पूजा

दैलेख – ‘लागू औषध तथा दुव्र्यसनी मुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ विषयमा जिल्ला सदरमुकाममा भएको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय मुख्य पुरस्कार छात्राहरुले जितेका छन् ।

प्रथम त्रिभुवन मावि दैलेखबजारकी आरती गौतमलाई पाँच हजार, द्धितीय दिपज्याेती मावि राकमकी चन्द्रा शाही तीन हजार र तृतीय पुरस्कार बिन्द्रासैनी मावि लयाटीबिन्द्रासैनीकी पूजा ढकाललाई दुई हजार पुरस्कार सहित प्रमाणपत्र दिइएको थियो ।

गुराँस र ठाँटीकाँध बाहेक ९ पालिकाबाट आएका २० जना वक्तृत्वकला प्रतियोगिताका सहभागी मध्ये चौथो स्थानमा ल्याएका विजया मावि दुल्लूका प्रवेश सार्कीलाई एक हजार सहित सान्त्वना पुरस्कार र प्रमाण पनि दिइएको थियो ।

असार ८ गते पालिका स्तरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरुबीच आज जिल्ला सदरमुकाम दैलेख बजारमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो । पुरस्कार रकम नेपाल औषधि व्यवसायी संघ दैलेखले प्रायोजन गरेको थियो ।

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताह व्यापी सचेतना अभियानका जिल्ला अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, कार्यक्रमका प्रमुख अतिथि नारायण नगरपालिकाका मेयर लोमन शर्मा र  प्रतियाेगिता समन्वय निकाय शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश मल्लले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

असार ६ गतेदेखि सुरु भएको अभियान भोलि असार १२ गते सकिंदैछ । अभियानको क्रममा पहिलो दिन असार ६ गते सचेतना कार्यक्रम, ७ गते रेडियो सम्वाद, असार ८ र ९ गते दैलेखका सबै पालिका स्तरमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।

असार १० गते होटल व्यवसायी र औषधि व्यवसायीहरुसंग लागू औषध रोकथाम सवालमा स्वास्थ्य सेवा कार्यालय दैलेखले अन्तरक्रिया कार्यक्रम गर्ने गरेको थियो । आज ११ गते स्तरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे र १२ गते विहान लागू औषध रोकथाम सचेतना प्रभात फेरि ¥याली निकाल्ने तयारी छ ।

शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु औषध भनिन्छ । रोकथामका लागि सचेतना जगाउन हरेक वर्ष जुन २६ तारिकमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार