२०८३ मंसिर ९ , बुधबार (2026 Nov 25, Wednesday)

पत्रकारद्वारा गिरफ्तारीकाे माग गर्दै प्रदर्शन



दैलेख – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकार माथि भइरहेको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ दैलेख शाखाकाे स‌ंयाेजनमा बुधबार जिल्ला प्रशासन कार्यालय दैलेखमा प्रदर्शन गरिएको छ । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने प्लेकार्ड सहित पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको, पत्रकारको जबरजस्ती निष्कासन र श्रम अधिकार उल्लंघन भएको लगायतका विषय उठाउँदै आन्दोलन घोषणा गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको बताउँदै समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड हुनु प्रेसमाथिको हस्तक्षेप भएको उल्लेख गर्नुभयो । यस्ता गतिविधि रोक्न र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्न महासंघले थालेको आन्दोलन अहिले झनै आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागले पत्रकारलाई समाचार लेखेकै आधारमा दबाब दिने, धरपकड गर्ने र श्रम अधिकारबाट वञ्चित गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित नभएसम्म पत्रकारहरूको खबरदारी र ऐक्यबद्धता जारी रहने भन्दै उहाँले यसमा सबैको चासो हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्माले पत्रकारिता स्वतन्त्र र सुरक्षित भए मात्रै नागरिकले सही सूचना पाउने बताउनुभयो । पत्रकारमाथिको धरपकड, सञ्चारमाध्यममा हस्तक्षेप र श्रम अधिकार उल्लंघनविरुद्ध दैलेख शाखा केन्द्रीय आन्दोलनसँगै उभिएको भन्दै उहाँले माग सम्बोधन नभए थप संघर्षमा जान तयार रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दैलेखकाे प्राँगणमा प्रदर्शनरत सहभागी पत्रकारहरुस‌ंग दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रज‌ंग शाहीले भेटेर पत्रकारहरुका समस्या जानकारी लिनुभएकाे थियाे । उहाँले याे सवालमा गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई सन्देश पु¥याउने वचन दिनुभयाे ।

महासंघको केन्द्रीय कार्यालयले तय गरेकाे चरणबद्ध आन्दोलनका कार्यक्रम देशभरका शाखाहरुले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाउने, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउने काम गरिसकेकाे छ । महासंघले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार