हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी दुर्घटनामा चालकको थकान, क्षमताभन्दा बढी यात्रु र सडक सुरक्षाको अभाव मुख्य कारण रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनअनुसार चालकले दुर्घटनाअघि करिब ४८ घण्टा ४५ मिनेटको अवधिमा ३३ घण्टा ४५ मिनेट सवारी चलाएका थिए भने १५ घण्टा मात्र विश्राम पाएका थिए । दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेको र सवारीको स्वीकृत क्षमता ११ जना मात्र रहेको पाइएको छ । लगातारको थकान र अनिद्राका कारण चालकको निर्णय क्षमता तथा एकाग्रतामा कमी आएको हुन सक्ने समितिको निष्कर्ष छ ।
समितिले दुर्घटनास्थलको सडकमा पर्याप्त क्र्यास बेरियर, चेतावनी सङ्केत, सडक बत्ती र रिफ्लेक्टर नभएको औँल्याएको छ । साथै विद्युतीय सवारीका प्राविधिक पक्ष, ब्रेकिङ प्रणाली र ब्याट्री व्यवस्थापनबारे चालकलाई पर्याप्त तालिम नदिइएको तथा सवारीका सूचना अङ्ग्रेजी भाषामा मात्र हुँदा समस्या हुने गरेको प्रतिवेदनमा उल्लेख छ । यान्त्रिक खराबीका कारण नै दुर्घटना भएको निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको पनि समितिले जनाएको छ ।
समितिले लामो दूरीका चालकको कार्यअवधि र अनिवार्य विश्रामसम्बन्धी मापदण्ड बनाउन, जीपीएस ट्र्याकिङ तथा चालकको थकान निगरानी प्रणाली लागू गर्न र जोखिमयुक्त सडकमा सुरक्षा संरचना निर्माण गर्न सुझाव दिएको छ । विद्युतीय सवारीका लागि छुट्टै प्राविधिक तथा भारवहन मापदण्ड, चालकलाई प्रयोगात्मक तालिम र सवारीका सूचना नेपाली भाषामा समेत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
पीडित परिवारलाई आर्थिक सहायता, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र पुनर्स्थापनासहितको विशेष राहत प्याकेज उपलब्ध गराउन पनि समितिले सरकारलाई सुझाव दिएको छ । गत कात्तिक २६ गते बिहान भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा–४ सुन्दरपुरका १३ जना यात्रु र कविलासी–८ का चालक रविशंकर कुमार मण्डल गरी १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।









प्रतिक्रिया दिनुहोस्