२०८३ असोज ११ , आइतबार (2026 Sep 28, Monday)

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ



काठमाण्डौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेकाे छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार विहान महाराजगञ्जस्थित निवासबाटै जबरालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । पक्राउको विस्तृत कारण भने खुलाइएको छैन ।

जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे । शैक्षिक याेग्यता र नागरिकतामा जन्म मिति फरकफरक भएकाे भन्ने विषयकाे विवादमा २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।

निलम्बन प्रस्ताव संसदमा छलफलमा नगएकाे र स‌ंसद अधिवेशन समाप्त भएकाे माैकामा  तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र लेख्नुभएको थियो । त्यही पत्रकाे आधारमा सर्वाेच्चमा हाजिर नभएरै जबराले उमेर हदका कारण २०७९ मंसिर २७ गते सर्वोच्च अदालतबाट अवकाश पाउनुभएको हो ।

गत भदौ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गरेको थियो । प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको इजलासले यस सम्बन्धी चारवटा रिट खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार