२०८३ मंसिर ३ , बिहीबार (2026 Nov 19, Thursday)

नेकपा दैलेखद्वारा राष्ट्रिय जागरण अभियान तय



दैलेख – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले राष्ट्रिय जागरण अभियानलाई जिल्लाभर सञ्चालन गर्न १५ सदस्यीय जिल्ला कमान्ड टोली गठन गरेको छ ।

जिल्ला इन्चार्ज प्रेमबहादुर कटुवाल क्षेत्रीको संयोजकत्वमा गठित टोलीले जिल्लाका ११ वटै स्थानीय तह र ९० वटै वडामा संगठनात्मक गतिविधि अघि बढाउनेछ ।

पार्टी जिल्ला समितिको दोस्रो पूर्ण बैठक तथा अगुवा नेता–कार्यकर्ता प्रशिक्षण कार्यक्रमले अभियानलाई वडा र टोल बस्तीसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

अभियानअन्तर्गत प्रत्येक पालिकामा पालिका कमान्ड र सबै वडामा महिला, दलित, जनजाति तथा युवाको प्रतिनिधित्व रहने गरी समावेशी वडा कमान्ड टोली परिचालन गरिनेछ ।

अभियानका क्रममा जनभेटघाट, पार्टी सदस्यता नवीकरण र संगठन विस्तारका गतिविधिलाई व्यवस्थित बनाउन कमान्डरहरूलाई अभियान डायरीसमेत हस्तान्तरण गरिएको छ ।

बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय संयोजन समिति सदस्य तथा संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाउनुभयो ।

पार्टीले विगतका गल्तीप्रति आत्मआलोचना गर्दै जनतामाझ जानुपर्ने र जनस्तरमा जागरण ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
सरकारका जनविरोधी गतिविधिको विरोध र राम्रा कामको समर्थन गर्ने नीति पार्टीले लिने उल्लेख गर्दै नेता पुनले राष्ट्रिय जागरण अभियानमार्फत जनताको विश्वास पुनः आर्जन गर्ने प्रयास गरिने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र सहइन्चार्ज अमरबहादुर थापाको विशेष उपस्थिति थियो । बैठकमा जिल्लास्थित विभिन्न कमिटीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

बैठकले मङ्सिर ५ गते सबै वडामा राष्ट्रिय जागरण अभियानको उद्घाटन तथा वडा समितिको पूर्ण बैठक गर्ने निर्णय गरेको छ । मङ्सिर ५ देखि १५ गतेसम्म वडास्तरमा जनभेटघाट, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र युवालाई अभियानमा जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यसैगरी, मङ्सिर १५ देखि २२ गतेसम्म विभिन्न जनवर्गीय संगठनका जिल्ला तहका भेला तथा बैठक आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।

मङ्सिर २२ गतेभित्र ११ वटै पालिका समितिले अभियानको प्रगति प्रतिवेदन जिल्ला कार्यालयमा बुझाउनुपर्नेछ । जिल्ला समितिले मङ्सिर २५ गतेभित्र जिल्लाको समग्र प्रतिवेदन तयार गरी प्रदेश र केन्द्रमा पठाउने निर्णय गरेको छ ।

दैलेख बसाइका क्रममा नेता पुनले जिल्ला पार्टी कार्यालयको अवलोकन गर्नुका साथै जिल्ला कमान्ड टोलीसँग छलफल र पत्रकार सम्मेलन गर्नुभएको थियो ।

उहाँले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभएको थियो । जिल्ला इन्चार्ज कटुवालले अभियानलाई सफल बनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते बुधबार