२०८३ कात्तिक २० , बिहीबार (2026 Nov 5, Thursday)

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाण्डौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुग्नुभएको छ । उहाँका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको हो ।

अधिवक्ता कुँवरले रिट लिएर सर्वोच्च पुगेको र कानुनी प्रक्रिया अघि बढिरहेको बताउनुभयो । सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उहाँको स्थानमा एआईजी मनोजकुमार केसी आईजीपी नियुक्त भई कार्यभार सम्हालिसक्नुभएको छ ।

सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने कार्कीको कदमसँगै ३० वर्षअघिको प्रहरी नेतृत्व परिवर्तनको घटनासमेत चर्चामा आएको छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी अच्युतकृष्ण खरेललाई पदमुक्त गरी ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख नियुक्त गर्नुभएको थियो ।

पछि सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्ले खरेललाई पुनः आईजीपी पदमा फर्काएको थियो । त्यसबेला खरेलले प्रहरी सङ्गठनमा स्वार्थसिद्ध गर्ने प्रवृत्ति रोक्नुपर्ने र सेवामा प्रवेश गरेका प्रहरी कर्मचारीले सोही सङ्गठनबाट निवृत्त हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार