२०८३ कात्तिक १५ , शनिबार (2026 Oct 31, Saturday)

डोल्पा कारागारबाट आठ कैदी फरार



डोल्पा – दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन् । शुक्रबार राति फरार भएका उनीहरू शनिबार बिहान कैदीबन्दी गणना गर्दा कम भएपछि घटना सार्वजनिक भएको हो । भेरी नदी किनारमा रहेको कारागारबाट करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर कैदीबन्दी बाहिरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

कारागारबाट बाहिरिएपछि उनीहरू पुल तरेर फरार भएको अनुमान रहेकाे डाेल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताउनुभयाे । कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका कैदीबन्दी खाेजी थालिसकिएकाे प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयाे ।

फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन् ।

त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरूमध्ये राम विक, कालिप्रसाद रोकाया, धनबहादुर बुढा, रेशम राना र यज्ञ विक जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । कपिल परियार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने तिलक र आदेश भण्डारी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरी सहितको टोलीले घटनाबारे अनुसन्धान थालेको छ । फरार कैदीबन्दीको खोजी भइरहेको छ भने कारागारको सिसिटिभी फुटेज समेत जाँच भइरहेको छ । सुरुङ खन्न प्रयोग गरिएका सामग्री कहाँबाट ल्याइयो र कैदीबन्दी फरार हुँदासम्म सुरक्षा निगरानी किन प्रभावकारी हुन सकेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार