दैलेख – गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) दैलेख शाखाले बिहीबार दैलेख सदरमुकाममा बडादशैंको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूले सामाजिक सद्भाव, पारदर्शिता र विकासमा सहकार्यको महत्वबारे धारणा राख्नुभएकाे थियाे ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले गैरसरकारी संस्थाहरूले सामाजिक सचेतना अभिवृद्धि, समुदाय परिचालन र विकासका सवालमा नागरिकलाई जागरुक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सामाजिक कुरीति, विभेद र अन्यायविरुद्ध समुदायमा सचेतना फैलाउनुका साथै नागरिकलाई अधिकार र कर्तव्यबारे जानकारी गराउने कार्यमा गैससहरूले अनुकरणीय अभ्यास अघि बढाएको उहाँको भनाइ थियो ।
खत्रीले विकासका कार्यक्रम सञ्चालन गर्दा बजेट खर्चमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सार्वजनिक तथा सामाजिक क्षेत्रमा खर्च हुने स्रोतको उचित उपयोग गर्दै कार्यक्रमको उपलब्धि समुदायले अनुभूति गर्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले गैससहरूले अपनाएका पारदर्शिताका अभ्यास अन्य निकायका लागि समेत सिकाइ बन्न सक्ने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले बडादशैंले आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको भावना बलियो बनाउने बताउनुभयो । जिल्लाको विकास र सामाजिक रूपान्तरणका लागि सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले चाडपर्वले समाजमा मेलमिलाप र सहकार्यको भावना बढाउने बताउनुभयो । स्थानीय विकास, सामाजिक सचेतना र नागरिकको जीवनस्तर सुधारका लागि सबै क्षेत्रका संस्थाबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै उहाँले दसैँले आपसी विश्वास र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गैसस महासंघका केन्द्रीय सदस्य हीरसिंह थापाले गैरसरकारी संस्थाहरूले समुदायका आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, बालअधिकार, महिला सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । सामाजिक संस्थाप्रति समुदायको विश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई निरन्तर प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बबडादशैंले आपसी भाइचारा, सद्भाव र सामाजिक एकताको सन्देश दिने बताउनुभयो । चाडपर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउँदै विपन्न तथा असहायलाई समेत खुसीमा सहभागी गराउन र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक मातृका पौडेलले चाडपर्वले सामाजिक सम्बन्ध सुदृढ बनाउनुका साथै पारस्परिक सहयोग र सद्भावको भावना विकास गर्ने बताउनुभयो । बडादशैं मनाउने क्रममा सुरक्षा सावधानी अपनाउँदै शान्तिपूर्ण वातावरण कायम गर्न र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष कमल शर्माले चाडपर्वले सामाजिक सद्भाव र आपसी सम्बन्धलाई बलियो बनाउने बताउनुभयो । सामाजिक संघसंस्थाले सञ्चालन गरेका गतिविधि र विकासका काममा पारदर्शिता कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सही सूचना प्रवाह र सार्वजनिक जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले बडादशैंले सामाजिक एकता र आर्थिक गतिविधिमा समेत सकारात्मक वातावरण निर्माण गर्ने बताउनुभयो । स्थानीय उत्पादन, व्यापार व्यवसाय र उद्यमशीलताको प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले चाडपर्वले स्थानीय बजार तथा व्यवसायमा उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ दैलेख शाखाका अध्यक्ष डिलकुमारी चन्दकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागी नागरिक समाजका अगुवा तथा पत्रकारहरु समेतले बडादशैंको अवसरमा महासंघले आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमले नेपालीहरुकाे प्रमुख चाडकाे महत्व र यसले अभिवृद्धि गरेकाे भातृत्वकाे सन्देशकाे चर्चा गर्नुभएकाे थियाे ।











प्रतिक्रिया दिनुहोस्