काठमाण्डौं – बडादशैँ नजिकिएसँगै काठमाण्डौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि उपत्यकामा बस्दै आएका मानिस परिवार र आफन्तसँग चाडपर्व मनाउन गाउँ फर्किन थालेका हुन् ।
नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले असोज १७ देखि २५ गतेसम्म दुई लाख सात हजारभन्दा बढी यात्रु बाहिरिएको जानकारी दिनुभयो ।
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यात्रु व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा थप समस्या भएको गौतमले बताउनुभयो । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्