२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

परिवारको भरोसा थिए, सुरेश



दैलेख – शुक्रबार रानीमत्तामा दुर्घटना भएको फोर्स गाडीका चालक ३९ वर्षीय सुरेश केसी नागरिकतामा नाम सूर्यबहादुर खत्री छ । उहाँको जन्म २०४२ चैत्र १२ गते भैरबी गाउँपालिका–५ बाहचौरमा भएको हो । आमा जौमती खत्री (६७), बुबा देवबहादुर खत्री (६९)को माइलो छोरा अनि परिवारको भरोसा हुनुहुन्थ्यो ।

सुरेशका जेठो दाजु धनबहादुर खत्री (४३)का ३ छोरी र २ छोरा छन्, सुरेश मुनिकाको साइलो भाई झक्कबहादुर खत्री (३६)का २ छोरी र १ छोरा छन् । कान्छो राजेन्द्र खत्री (२३)ले विवाह गर्नुभएको छ तर सन्तान छैनन् । जेठो, साइलो र कान्छो भारतमा मजदूरी गरेर गुजारा चलाउनुभएको छ ।

सुरेशले प्राथमिक तहको पढाइ अहिलेको मण्डमाण्डौं मावि डोक्राँमा त्यसबेला ५ कक्षासम्म मात्र पठाइ हुने भएको त्यहाँपछि ६ देखि ८ कक्षासम्म आदर्श मावि घुम्नेखाली पुगेर शिक्षा आर्जन गर्नुभयो । परिवारमा आर्थिक जोहमा मद्दत गर्नुपर्ने जिम्मेवारी थपिएपछि ८ कक्षामै पढाई रोक्नुभयो ।

पढाइ छोडेर २०५० सालतिर १३ वर्षकै उमेरमा साथीहरुसंग दिल्ली पुगेर सुरुमा घरायसी काम, पछि कारखानामा काम गर्नुभयो अनि दिल्लीमै तालिम लिई ड्राइभिङ्ग गर्न थाल्नुभयो । यो विचमा उहाँ घरमा आउजाउ गर्ने क्रममा २०६७ सालतिर २९ वर्षको उमेर बर्दिया खैरेनीकी बालकुमारीसंग विवाह गर्नुभयो ।

विवाह भएको लामो समयसम्म सन्तान नजन्मेपछि २०७९ मा सुर्खेतमा प्रदेश अस्पतालमा बच्चा जन्माएर आमा भागेर बेवारिसे रहेकी बालिकालाई सुरेश र बालकुमारीले अस्पतालबाट कानूनी रुपमा ग्रहण गरी धर्मपुत्रीको रुपमा पाल्नुभएको छ । छाेरीकाे नाम माया राख्नुभएको छ । बजारबाट किनेकाे दूध चुसाएर बचाएकी छोरी अढाई वर्षकी भइन् । सुरेशले छाेरीलाई यति धेरै माया गर्नुहुन्थ्यो कि छाेरीकाे झल्काे मेट्न गाडीमा ‘मायालुको माया’ लेख्नुभएको थियाे ।

२०७६ मा लकडाउनपछि घर फर्किएपछि सुरेश यतै बसेर जानेको सीप प्रयोग गर्ने गरी गाउँकै अर्को एक व्यक्तिबाट पुरानो गाडी १४ लाखमा किनेर चलाउन थाल्नुभयो । दैलेखदेखि सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९९८ नम्बरको त्यही फोर्स गाडी बीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक दुर्घटनामा परेको हो ।

सुरेशका दाजु धनबहादुर खत्रीले भन्नुभयो ‘गाडीको ऋण तिर्न बाँकी छ, दुर्घटना भयो । त्यो ऋण कसरी तिर्ने ? दुई वर्ष छोरी र उसको श्रीमति अनि परिवारमा राम्रो कमाएको नाताले परिवारजनको रेखदेख गरिदेला ?’ उहाँले समस्या सुनाउनुभयो ‘हाम्रो परिवारको भरोसा गुम्यो ।’

सुर्खेतमा डेरा गरी बसेकी सुरेशकी श्रीमती–छोरी, घरमा बुबा–आमा लगायत परिवारजन शोकमग्न छन् । गाउँलेहरुले पनि आत्मीयता देखाउथे गाडी चलाएको पनि राम्रो भनेर सुरेशकै गाडी रोज्थे, भैरबी क्षेत्रबाट आएका मान्छे जति उहाँकै गाडीमा चढे, रानीमत्तामा दुर्घटना भयो । सुरेश र त्यही गाउँका अरु तीन जनाको पनि ज्यान गयो ।

दुर्घटनामा दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३९ वर्षीय सुरेश केसी भनेर चिनिएका सूर्यबहादुर खत्री, भैरबी गाउँपालिका–२ रावतकोटका तीन जना ३६ वर्षीय कर्णबहादुर विष्ट, १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको ज्यान गएको थियो । गाउँभरी रुवावासी छ । त्यो दुर्घटनामा ४ जनाको ज्यान जानुसंगै ३१ जना घाइते भएका थिए ।

शुक्रबार भएको दुर्घटना शनिबार दिउँसोसम्म प्रहरीमा जाहेरी दिनुपर्ने, प्रहरीको चिठ्ठी लिएर मात्र पोष्टमार्टम गरिने भएकोले कर्णाली प्रदेश अस्पतालले पोष्टमार्टम गर्न बाँकी छ । शनिबार साँझ गाउँमै ल्याउने र आइतबार चारै वटा शवहरु नाभिस्थानस्थित चिहान घाटमा दाहसँस्कार गर्ने गाउँलेहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार