२०८३ मंसिर १० , बिहीबार (2026 Nov 26, Thursday)

हिंसामुक्त समाज र १६ दिने अभियान



महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धतासहित विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज नोभेम्बर २५ देखि सुरु भएको छ । डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन समापन हुने अभियानले हिंसालाई व्यक्तिगत वा पारिवारिक समस्याका रूपमा मात्र नहेरी मानव अधिकार, सामाजिक न्याय र संरचनागत विभेदसँग जोडेर सम्बोधन गर्नुपर्ने सन्देश दिन्छ ।

सन् १९९१ देखि अन्तर्राष्ट्रिय रूपमा सञ्चालन हुँदै आएको यो अभियानको सुरुआत नोभेम्बर २५ मा मनाइने महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसबाट हुन्छ । डिसेम्बर १० को मानव अधिकार दिवससम्म चल्ने अभियानले महिला तथा बालिकाको सम्मानपूर्वक, सुरक्षित र समानतामूलक जीवनको अधिकार सुनिश्चित गर्न राज्य, समुदाय र नागरिकलाई जिम्मेवार बनाउने उद्देश्य राख्छ ।

यस वर्षको संयुक्त राष्ट्रसंघीय अभियानको मूल आह्वान छ– न्याय सुनिश्चित गरौँ, हिंसा प्रभावितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ (Ensure Justice, Protect Survivors, End Impunity) । अभियानले घर, कार्यस्थल, सार्वजनिक स्थान र डिजिटल माध्यममा हुने हिंसालाई एउटै निरन्तरताका रूपमा हेर्दै पीडितले न्याय पाउने र दोषीले उन्मुक्ति नपाउने व्यवस्था सुनिश्चित गर्न जोड दिएको छ ।

हिंसाविरुद्ध नाराभन्दा व्यवहार परिवर्तन आवश्यक

लैंगिक हिंसा शारीरिक आक्रमण वा कुटपिटमा मात्र सीमित छैन । मानसिक यातना, यौन दुर्व्यवहार, आर्थिक नियन्त्रण, बालविवाह, दाइजोका नाममा हुने प्रताडना, सामाजिक बहिष्करण, कार्यस्थलमा हुने दुर्व्यवहार र प्रविधिको दुरुपयोगबाट हुने हिंसा पनि यसकै स्वरूप हुन् । यस्ता हिंसाको जरोमा असमान शक्ति सम्बन्ध, पितृसत्तात्मक सोच, विभेदपूर्ण सामाजिक मान्यता र महिलालाई कमजोर ठान्ने प्रवृत्ति छन् ।

हिंसा अन्त्यका लागि पीडितलाई सहनशील बन्न वा परिवारको इज्जत जोगाउन दबाब दिनुभन्दा हिंसा गर्ने व्यक्तिलाई जवाफदेही बनाउने सामाजिक वातावरण आवश्यक छ । हिंसाको उजुरी गर्न खोज्ने महिलालाई नै प्रश्न गर्ने, घटनालाई मिलापत्रमा टुङ्ग्याउन दबाब दिने र पीडकलाई सामाजिक प्रतिष्ठाका आधारमा संरक्षण गर्ने प्रवृत्तिले न्यायको बाटो अवरुद्ध गर्छ ।

नेपालमा कानुनी व्यवस्था र संस्थागत संयन्त्र भए पनि तिनको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ । हिंसामा परेका महिलाले प्रहरी, स्वास्थ्य संस्था, स्थानीय न्यायिक समिति र अदालतसम्म पुग्न सहज वातावरण पाउनुपर्छ । दुर्गम बस्तीका महिलाका लागि यातायात, आर्थिक अभाव, कानुनी जानकारीको कमी र सामाजिक दबाबसमेत न्याय प्राप्तिका अवरोध बन्न सक्छन् ।

दलित, अपाङ्गता भएका महिला, आर्थिक रूपमा विपन्न, एकल महिला तथा द्वन्द्व प्रभावित महिलाले भोग्ने हिंसा र विभेदका स्वरूप थप जटिल हुन सक्छन् । त्यसैले सबै महिलालाई एउटै अवस्थाबाट हेर्नुभन्दा उनीहरूको सामाजिक, आर्थिक र भौगोलिक अवस्थाअनुसार संरक्षण तथा न्यायको पहुँच सुनिश्चित गर्नु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सन् २०२६ को तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका विश्वका करिब चार करोड ३० लाख किशोरीले जीवनमा कम्तीमा एकपटक यौन वा शारीरिक हिंसा भोगेका छन् । यो उमेर समूहका झन्डै तीनमध्ये एक किशोरी हिंसाबाट प्रभावित भएको अनुमानले बालिका तथा किशोरीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने देखाउँछ ।

१६ दिनपछि पनि जारी रहोस् प्रतिबद्धता

लैंगिक हिंसा अन्त्य गर्ने जिम्मेवारी महिला अधिकारकर्मी वा सरकारी निकायको मात्र होइन । पुरुष, किशोर, युवा, अभिभावक, शिक्षक, सञ्चारकर्मी, राजनीतिक दल, धार्मिक तथा सामाजिक अगुवा सबैको सक्रिय भूमिका आवश्यक छ । छोरालाई छोरीसरह सम्मान, समान अवसर र जिम्मेवारी सिकाउने घरबाटै विभेदविरुद्धको अभियान सुरु हुनुपर्छ ।

विद्यालयमा लैंगिक समानता र सुरक्षित सम्बन्धबारे शिक्षा, समुदायमा हिंसाविरुद्ध खुला संवाद, स्थानीय तहमा प्रभावकारी उजुरी तथा संरक्षण संयन्त्र र न्यायिक निकायमा पीडितमैत्री व्यवहार आवश्यक छन् । सञ्चारमाध्यमले पनि पीडितको पहिचान र गोपनीयता सुरक्षित राख्दै घटनाको संवेदनशील तथा तथ्यपरक रिपोर्टिङ गर्नुपर्छ ।

१६ दिने अभियानका कार्यक्रम, र्‍याली, गोष्ठी र प्रतिबद्धतापत्रले मात्रै हिंसा अन्त्य हुँदैन । अभियान सकिएपछि पनि उजुरीको सुनुवाइ, पीडितको सुरक्षा, उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता र पुनःस्थापनाका काम निरन्तर हुनुपर्छ ।

हिंसामुक्त समाज निर्माणको वास्तविक मापन अभियानमा सहभागी हुनेको संख्या होइन, हिंसा घट्नु, पीडितले सहजै न्याय पाउनु र महिलाले डर तथा विभेदबिना जीवन बिताउन सक्ने अवस्था निर्माण हुनु हो । त्यसैले १६ दिनलाई औपचारिक कार्यक्रमको अवधि नभई वर्षभरि सामाजिक व्यवहार परिवर्तन गर्ने साझा संकल्पका रूपमा लिन आवश्यक छ ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार