नयाँदिल्ली – भारतले भैरहवाको एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच यस्तो सहमति भएको हो । नेपाल र भारतले भ्रमणपछि जारी गरेको संयुक्त वक्तव्यमा हाल सञ्चालनमा रहेको बी३४५ काठमाण्डौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख गरिएको छ ।
हाल काठमाण्डौंबाट उडेका अन्तर्राष्ट्रिय विमानले भैरहवाको हवाई मार्ग प्रयोग गरी बाहिरिन पाउने भए पनि भारतबाट नेपाल भित्रिने विमानले सिमरा मार्ग मात्र प्रयोग गर्न पाउने व्यवस्था छ । दुईतर्फी मार्ग सञ्चालनमा आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।
भैरहवाको हवाई मार्गबाट हाल कुवेत, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सका विमान काठमाण्डौंबाट बाहिरिने गरेका छन् । दुईतर्फी मार्ग सञ्चालन भए नेपाल आउने विमानको दूरी र उडान समय घट्ने तथा हवाई भाडासमेत कम हुन सक्ने अपेक्षा गरिएको छ ।
संयुक्त वक्तव्यमा हवाई मार्ग सम्बन्धी आवश्यक प्रक्रिया र कार्यविधि टुङ्ग्याउन तथा नागरिक उड्डयन सम्बन्धी प्रस्तावमा छलफल गर्न नेपाल र भारत बीच प्राविधिक परामर्श गर्ने उल्लेख छ । महेन्द्रनगर र जनकपुरको हवाई मार्गका विषयमा भने नेपाल र भारतबीच सहमति जुट्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्