२०८३ कात्तिक १८ , मंगलबार (2026 Nov 3, Tuesday)

दैलेखमा नेकपाको जनजागरण अभियान सुरु



दैलेख – नेपाली कम्यूनिष्ट पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको ‘राष्ट्रिय जनजागरण अभियान’ दैलेखमा पनि सुरु गरेको छ । पार्टीले पत्रकार सम्मेलनमार्फत अभियानको उद्देश्य सार्वजनिक गर्दै जिल्लाका सबै स्थानीय तह र वडामा जनसंवाद तथा सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य प्रेम कटुवाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिरबहादुर कार्की, जिल्ला सहइञ्चार्ज गोपाल रिजाल, केन्द्रीय सदस्य कृष्णबहादुर गुरुङ र जिल्ला संयोजक मायाराम अधिकारी लगायत नेताहरूले अभियानको औचित्यबारे प्रकाश पार्नुभयो ।

नेताहरूले जनजागरण अभियानले पार्टी सङ्गठनलाई तल्लो तहसम्म विस्तार र सुदृढ गर्न तथा जनताका वास्तविक समस्या, विकास निर्माण सम्बन्धी अपेक्षा र गुनासा प्रत्यक्ष रूपमा बुझ्न सहयोग पुग्ने बताउनुभयो । जनतासँग प्रत्यक्ष संवाद गरी स्थानीय आवश्यकता र सरोकारलाई प्राथमिकतामा राख्ने अभियानको उद्देश्य रहेको उहाँहरूको भनाइ थियो ।

अभियानलाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारी बाँडफाँट गरिएको छ । अभियानका क्रममा सबै स्थानीय तह र वडामा पुगेर जनसंवाद, सङ्गठन विस्तार तथा जनजागरणका कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार