काठमाण्डौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्ला दुई दशकको पार्टीको राजनीतिक यात्रामाथि आत्मसमीक्षा गर्दै सत्ता र पदलाई प्राथमिकता दिँदा कांग्रेसको नैतिक विश्वसनीयता कमजोर भएको स्वीकार गर्नुभएको छ ।
उहाँले नीतिगत सहकार्य लेनदेनमा सीमित हुनु, सार्वजनिक नियुक्तिमा भागबन्डा, आफ्ना पक्षका व्यक्तिलाई संरक्षण र क्षमताभन्दा गुटीय निकटतालाई प्राथमिकता दिने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता तथा नागरिकको राजनीतिक दलप्रतिको भरोसा कमजोर बनाएको उल्लेख गर्नुभएको छ ।
२०६२/०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभा र २०७२ को संविधानमार्फत प्राप्त राजनीतिक उपलब्धि महत्वपूर्ण भए पनि त्यसलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु कांग्रेसको प्रमुख कमजोरी रहेको थापाको निष्कर्ष छ । न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी र देशमै भविष्य खोज्ने नागरिकको अपेक्षा अझै पूरा हुन नसकेको उहाँले बताउनुभएको छ ।
पार्टीले बदलिँदो पुस्ताको अपेक्षा, रोजगारी, डिजिटल पहुँच, बसाइँसराइ र नयाँ राजनीतिक चेतनालाई समयमै बुझ्न नसकेको भन्दै थापाले २०८२ भदौको जनउभारलाई पनि सञ्चित नागरिक असन्तोषको अभिव्यक्तिका रूपमा व्याख्या गर्नुभएको छ । निर्वाचनमा पराजित कांग्रेसले अब प्रतिपक्षको भूमिका प्रभावकारी बनाउँदै संगठन, नीति र कार्यशैली सुधार्नुपर्ने उहाँको जोड छ ।
‘उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दियौँ’
थापाले कांग्रेसले आफ्ना शासनगत कमजोरीको जिम्मेवारी अरूमाथि पन्छाउन नमिल्ने बताउँदै उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दिएको स्वीकार गर्नुभएको छ । सरकार परिवर्तनसँगै नीति र कार्यक्रम बदलिने प्रवृत्ति, गुटीय भागबन्डा र आफ्ना पक्षलाई संरक्षण गर्ने व्यवहारले पार्टीको विश्वसनीयता घटाएको उहाँको निष्कर्ष छ ।
युवाको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ
नयाँ पुस्ताले अवसर, निष्पक्षता, सहभागिता र जीवनमा देखिने परिणाम खोजिरहेका बेला कांग्रेसले उनीहरूको बदलिँदो मनोविज्ञानअनुसार नीति र संगठन परिवर्तन गर्न नसकेको थापाले उल्लेख गर्नुभएको छ । रोजगारीको अभाव र विदेशिनुपर्ने बाध्यताप्रति नेतृत्वले पर्याप्त गम्भीरता नदेखाउँदा युवामा राजनीतिक तथा सार्वजनिक संस्थाप्रतिको निराशा बढेको उहाँको भनाइ छ ।
‘भदौको जनउभारलाई षड्यन्त्र भन्न मिल्दैन’
२०८२ भदौ २३ र २४ गतेको जनउभारलाई नेतृत्वको कमजोरी, कुशासन, भ्रष्टाचार र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासबाट सिर्जित नागरिक असन्तोषको अभिव्यक्ति मान्नुपर्ने थापाको भनाइ छ । त्यसलाई केवल षड्यन्त्रका रूपमा पन्छाउनु वा कुनै नयाँ शक्तिको राजनीतिक सम्पत्ति ठान्नु दुवै गलत हुने उहाँले बताउनुभएको छ ।
‘जायज आक्रोशका सबै निष्कर्ष सही हुँदैनन्’
कांग्रेसले जनआन्दोलनका मूल मागलाई जायज माने पनि संस्थाको कमजोरीलाई संस्था नै समाप्त गर्ने आधार बनाउन नहुने थापाले स्पष्ट पार्नुभएको छ । हिंसा, विनाश र व्यक्तिको इच्छाशक्तिलाई लोकतान्त्रिक प्रक्रियाको विकल्प मान्न नसकिने भन्दै घटनामा संलग्न जोसुकै भए पनि तथ्य र प्रमाणका आधारमा कानुनी जवाफदेहितामा ल्याउनुपर्ने उहाँको धारणा छ ।
पराजयपछि प्रतिपक्षको भूमिकामा कांग्रेस
निर्वाचन परिणामले कांग्रेसलाई प्रतिपक्षको जिम्मेवारी दिएको उल्लेख गर्दै थापाले अब सरकारको निगरानी, नागरिकका मागको प्रतिनिधित्व र विश्वसनीय राजनीतिक विकल्प निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । युवाका असन्तोष र नीतिगत माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ सम्मिलित विशेष कार्यदल गठनको प्रस्तावसमेत उहाँले अघि सार्नुभएको छ ।
‘पराजयले इतिहास र भविष्य परिभाषित गर्दैन’
कांग्रेसको निर्वाचन पराजयलाई तत्कालीन परिणाममा मात्र सीमित नगरी नागरिक र पार्टीबीच बढेको दूरी, सत्ता केन्द्रित अभ्यास र नयाँ पुस्ताका बदलिँदा आकांक्षासँग जोडेर बुझ्नुपर्ने थापाको निष्कर्ष छ । १५औँ महाधिवेशनलाई नेतृत्व परिवर्तनभन्दा पनि नीति, संगठन र राजनीतिक व्यवहारमा सुधार गर्दै पार्टी पुनर्निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने उहाँले बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्