दैलेख – सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय दैलेखको नवौँ स्थापना दिवस सोमबार तर्ताङस्थित गुल्म परिसरमा विविध कार्यक्रम गरी मनाइएको छ । २०७५ असोज १९ गते दैलेख सदरमुकाममा स्थापना भएको गुल्मको स्थापना दिवस सशस्त्र प्रहरी बल, नेपाल ६ नं. महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी उपरीक्षक करणसिंह धामीको प्रमुख आतिथ्यतामा मनाइएको हो ।
स्थापना दिवस कार्यक्रममा आयोजित विभिन्न खेलकूद प्रतियोगिताका विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । २ माइल दौडमा सशस्त्र प्रहरी जवान सुरेश शाही, हाजिरीजवाफ प्रतियोगितामा सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार पोखरेल, सशस्त्र प्रहरी सहायक हवल्दार खिमबहादुर डाँगी, सशस्त्र प्रहरी जवान सुरेश शाही, सशस्त्र प्रहरी जवान मदन नेपाली र सशस्त्र प्रहरी जवान दिपेन्द्र चौधरी प्रथम भएका थिए ।
ब्याडमिन्टनतर्फ प्रथम हुने सशस्त्र प्रहरी नायव निरीक्षक पूर्णकुमार सोनाम र सशस्त्र प्रहरी जवान नबिन बि.सी. तथा टेबल टेनिसतर्फ प्रथम हुने सशस्त्र प्रहरी सहायक हवल्दार छविलाल थापामगरलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा गुल्ममा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल ६ नं. महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी उपरीक्षक करणसिंह धामीले स्थापना दिवसले संगठनभित्र कार्यरत कर्मचारीको मनोबल उच्च बनाउनुका साथै जिम्मेवारीप्रति थप प्रतिबद्ध बनाउने बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम गर्न, विपद् तथा आपत्कालीन अवस्थामा नागरिकको उद्धारमा प्रभावकारी रूपमा खटिनुपर्ने उहाँले बताउनुभयो ।
धामीले सशस्त्र प्रहरी कर्मचारीले अनुशासन, व्यावसायिक दक्षता र सेवाभावलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । स्थानीय समुदायसँग सहकार्य गर्दै नागरिकमैत्री सुरक्षा सेवा प्रवाह गर्न सके संगठनप्रतिको विश्वास थप बलियो हुने सशस्त्र प्रहरी उपरीक्षक धामीले उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय दैलेखका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक मातृका पौडेलले स्थापना दिवस गुल्मले वर्षभरि सम्पादन गरेका गतिविधिको समीक्षा गर्दै आगामी दिनका जिम्मेवारीलाई थप प्रभावकारी बनाउने अवसर भएको बताउनुभयो । जिल्लाको सुरक्षा आवश्यकता र विपद् जोखिमलाई ध्यानमा राखेर तयारी अवस्थामा रहने उहाँले बताउनुभयो ।
पौडेलले नेपाल प्रहरी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिइने बताउनुभयो । कर्मचारीको अनुशासन, क्षमता विकास र जनसेवाको भावनालाई बलियो बनाउँदै जिल्लामा शान्ति सुरक्षा तथा विपद् उद्धारका काममा प्रभावकारी योगदान गर्ने प्रहरी नायव उपरीक्षक मातृका पाैडे्लले उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, महत्वपूर्ण संरचना तथा सार्वजनिक हितका क्षेत्रमा सुरक्षा, विपद् व्यवस्थापन र उद्धार, दंगा नियन्त्रण तथा आवश्यकताअनुसार अन्य सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएको छ । नागरिकको जीवन र सम्पत्तिको सुरक्षा, विपद्का बेला तत्काल उद्धार तथा राहत र राज्यको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।











प्रतिक्रिया दिनुहोस्