२०८३ मंसिर ३ , बिहीबार (2026 Nov 19, Thursday)

गुल्मीमा प्रहरी निरीक्षक केसी मृत फेला



सुर्खेत – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी मृत अवस्थामा फेला पर्नुभएको छ ।

मंगलबार बिहान साढे ९ बजेसम्म पनि नउठेपछि उहाँको खोजी गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सिनियर अधिकृतको निवास (क्वार्टर) मा बस्दै आउनुभएका केसीको कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो ।

लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट कोठाभित्र प्रवेश गर्दा उहाँ अचेत अवस्थामा फेला पर्नुभएको थियो । तत्काल अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले घटनाको पुष्टि गर्दै मृत्यूको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने जानकारी दिनुभएको छ ।

केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आउनुभएको थियो ।

उहाँ २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर २ गते बुधबार