दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध रोकथाम र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनदेखि फरार प्रतिवादी पक्राउ र लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।
प्रहरीले कात्तिक महिनाभरमा जिल्लाका विभिन्न स्थानमा ६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । यस अवधिमा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको छ । यसले अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रहरीको प्रयासलाई देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार कात्तिक महिनामा कर्तव्य ज्यान र सवारी ज्यानलगायत विभिन्न प्रकृतिका पाँच वटा मुद्दा दर्ता भएका छन् ।
यस अवधिमा घरेलु तथा सामाजिक हिंसासम्बन्धी १७ वटा उजुरी परेका छन् । तीमध्ये १४ वटा उजुरीमा मिलापत्र गराइएको प्रहरीले जनाएको छ । हिंसासम्बन्धी उजुरीको सम्बोधन र विवाद समाधानका लागि प्रहरीले पहल गरेको विवरणमा उल्लेख छ ।
प्रहरी विवरणअनुसार कात्तिक महिनामा जिल्लामा छ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेका छन् । आत्महत्या न्यूनीकरणका लागि सचेतना र रोकथामका प्रयास आवश्यक रहेको यस तथ्याङ्कले देखाउँछ ।
अपराध रोकथामसँगै ट्राफिक नियम पालना गराउने अभियानलाई पनि प्रहरीले निरन्तरता दिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी प्रहरीले कार्तिक महिनामा छ लाख ७१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
समुदायसँगको सहकार्य, जनचेतना अभिवृद्धि, अपराधमा संलग्न व्यक्तिको पक्राउ र कानुनी कारबाहीमार्फत शान्ति सुरक्षा कायम गर्ने प्रयासलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्