काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा समेटिएको हो ।
पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको थियो । पोखराका युभराज सामराले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रन बनाउनुभयो । कुशल भुर्तेलले ५१ बलमा आठ चौका र आठ छक्काको मद्दतमा ९९ रन बनाउनुभयो । उहाँ शतक बनाउन एक रनले चुक्नुभयो ।
पहिलो विकेटका रूपमा अर्जुन कुमाल १७ रनमा आउट भएपछि सामरा र भुर्तेलले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गर्नुभयो । कप्तान चमिका करुणारत्नेले सात बलमा १९ रन बनाउनुभयो भने धनञ्जय लक्षण दुई रनमा अविजित रहनुभयो । काठमाडौंका करण केसीले दुई र जहान्दाद खानले एक विकेट लिनुभयो ।
२२५ रनको लक्ष्य पछ्याएको काठमाडौंका साहिल पटेलले २३ बलमा ३४ र विलियम बोसिस्टोले २२ बलमा २६ रन बनाउनुभयो । पाँचौँ विकेटका लागि जहान्दाद खान र राशिद खानले ४४ रनको साझेदारी गर्नुभयो । जहान्दादले १२ बलमा २४ र राशिदले २० बलमा ३१ रन बनाउनुभयो ।
सोनु देवकोटाले १४ बलमा चार छक्कासहित २९ रन बनाउनुभए पनि काठमाडौंलाई जिताउन सक्नुभएन । पोखराका दिनेश खरेलले चार ओभरमा १८ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । बिपिन खत्रीले तीन तथा रमेश मेन्डिस, युभराज सामरा र सन्नी बीकेले समान एक विकेट लिनुभयो ।
जितसँगै पोखराले सातौँ स्थानमा रहँदै लिग चरणको सुखद अन्त्य गरेको छ । पोखराले चार अंक जोडेको छ । पराजित काठमाडौं भने चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको छ । काठमाडौंको हारसँगै जनकपुर बोल्ट्स अंक तालिकाको अन्तिम स्थानमा पुगेको छ ।
प्लेअफमा कोसँग कसको प्रतिस्पर्धा ?
लिग चरणका सबै खेल सकिएसँगै प्लेअफको समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, एलिमिनेटरमा तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो स्थानको चितवन राइनोज भिड्नेछन् । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
अन्तिम खेलमा ठूलो अन्तरको जित निकाल्दै पोखराले प्रतियोगिताबाट बिदाइ लिएको छ । जनकपुर बोल्ट्स भने अंक तालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ ।









प्रतिक्रिया दिनुहोस्