दैलेख – दलित उत्थान, युवा रोजगार तथा साँस्कृतिक संस्था पञ्चपुरी सुर्खेतले दैलेख सदरमुकामस्थित नमूनाबस्तीका बादी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । यूरोपेली भियतनामी सेस समुदाय (ट्रेसी) तथा गुन इन एशोसियसन वीथ रिण्डनेस अफ डेनमार्कको आर्थिक सहयोगमा विद्यालय तहगत ६० जना बादी बालबालिकालाई प्रतिव्यक्ति झण्डै ३ हजार ६ सय बराबरको बस्तुपरक शैक्षिक सामग्री दिइएको हो ।
बालविकास सिकाई कक्षादेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकालाई ४ दर्जन पेनसील, १० वटा कटर, २० वटा इरेजर, २ दर्जन कलरपेनसील, २ वटा ड्रोइङ कपी, १ सेट खेल रेम्बो व्लक थप सामग्रीको रुपमा दिइएको थियो भने ४ देखि १२ कक्षासम्म अध्ययनरतलाई ३ दर्जन कपी, ४ पकेट कलम, १ ज्यामिती वक्स र १ क्याल्कुलेटर दिइएको थियो । सबै जनालाई १–१ वटा झोला र १–१ वटा पानी राख्ने बोतल दिइएको छ ।
अत्यन्तै उपयोगी र झण्डै वर्षभरीका लागि शैक्षिक सामग्री पाएकोमा बालबालिकाहरुले खुशी प्रकट गरेका छन् । दलितभित्र पनि उपेक्षित बादी समुदायका बालकालिकालाई शैक्षिक सामग्री दिएकोमा आफूहरुलाई खुशी लागेको नमूनावस्तीकी अगुवा महिला ममता बादी सहयोगी निकायहरुलाई धन्यवाद दिनुभयो ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा, दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र शाही, नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खमबहादुर थापा लगायतको रोहबारमा दैलेख सदरमुकामस्थित नमूनाबस्तीका ती बादी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा दलित उत्थान, युवा रोजगार तथा साँस्कृतिक संस्था पञ्चपुरी सुर्खेतका अध्यक्ष ललित सुनार, सचिव प्रेम सुनार, वरिष्ठ सदस्य रमेश बिक, सल्लाहकारहरु अमर ढोली र अमर बिक समेतको टोलीले नमूनाबस्तीका बादी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
२०८३ भदौ १० गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको यो संस्थाले अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा समुदायमा प्रत्यक्ष सामाजिक सेवा गरेको यो पहिलो कार्यक्रम भएको संस्थाका सचिव प्रेम सुनारले बताउनुभयो । समाज सेवाको थालनी बादी बालकालिकाबाट गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्