२०८३ कात्तिक १२ , बुधबार (2026 Oct 29, Thursday)

‘अर्नब’ चक्रवातको प्रभाव देखिन थाल्याे



काठमाण्डौं – बङ्गालको खाडीबाट विकसित भई भारत प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेकाे भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । चक्रवातसँगै भित्रिने जलवाष्पका कारण देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिदेखि प्रभाव देखिन थाल्ने र भोलि रातिदेखि शनिवारसम्म जोखिम उच्च रहने अनुमान छ । कात्तिक १५ गते आइतवारसम्म विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै पर्यटन विभागले हिमाल आरोहण तथा पदयात्रामा रहेका पर्यटक, पर्वतारोही र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि धानबाली भित्र्याउँदा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ । सम्भावित वर्षा, हिमपात र हावाहुरीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सतर्क रहन सम्बन्धित निकायले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार