
दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले हरेक नवजात शिशुको जन्मदर्ता अनिवार्य गराउन स्थानीय पञ्जिकरण अधिकारीलाई निर्देशन दिनुभएको छ । महिला, कानून र विकास मञ्च (एफडब्लूएलडी)ले बिहीबार दैलेख सदरमुकाममा आयोजना गरेको पञ्जीकरणमा जन्मदर्ताको सम्बन्ध विषयक छलफल कार्यक्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।
जन्मदर्ता लगायत विवाह दर्ता, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यू व्यक्तिगत घटना दर्ता समयमा गर्न सकिएमा जनसंख्याको आकलन हुने त्यसले विकास पूर्वाधार निर्माण र सामाजिक विकासका योजना तजुमा गर्न सहज हुने मेयर शर्माले बताउनुभयो ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पञ्जीकरणको काम केही प्राविधिक काममा सुधार गर्न आवश्यक रहेको औल्याउदै नीतिगत रुपमा सबै सम्भावनाहरुको विश्लेषण गरी जन्मदर्ता गर्न सकिने व्यवस्था गरेको बिश्लेषण गर्नुभयो ।
शिशुलाई जन्म दिएर झाडीमा फालिएको अवस्थामा आमा पहिचान हुन नसकेको, हाडनाता र बलात्कार वा बाबु पहिचान हुन नसकेको बेला बुबा नजनाई आमाको नामबाट नागरिकता लिनेदेखि बहुविवाह गरेकी महिलाबाट जन्मेको बालबालिकाको समेत जन्मदर्ता गर्न सकिने व्यवस्था रहेको उहाँले प्रष्ट्याउनुभयो ।
छलफल कार्यक्रममा ‘महिला, कानून र विकास मञ्च (एफडब्लूएलडी)’का अधिवक्ताद्वय गीता कोइराला र दिपेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढा, ११ वटै वडाका वडासचिवहरु लगायतका पञ्जीकरण सम्बन्धी काम गर्ने प्राविधिकहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्