२०८३ कात्तिक १३ , बिहीबार (2026 Oct 29, Thursday)

मुस्ताङमा सवा अर्बको स्याउ उत्पादन



मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा यस वर्ष सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि तथा पशु विकास कार्यालयको प्रारम्भिक अनुमानअनुसार उत्पादित स्याउको मूल्य करिब एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबर छ ।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष ९५९ दशमलव ६२ मेट्रिक टन हाइब्रिड र छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्थानीय जातको स्याउ उत्पादन भएको छ । हाइब्रिड स्याउको मूल्य २३ करोड छ लाख रुपैयाँ र स्थानीय स्याउको मूल्य ९१ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबर रहेको प्रारम्भिक विवरण छ ।

कृषि प्राविधिकले बगैँचामा क्रप कटिङ विधिबाट उत्पादन मापन गर्नुका साथै स्थानीय तहका प्राविधिक र किसानसँगको समन्वयमा विवरण सङ्कलन गरेका हुन् । यस वर्ष उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने र १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत हुने अनुमान छ ।

गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन पाँच दशमलव २९ प्रतिशत अर्थात् ३५४ दशमलव २४ मेट्रिक टनले बढेको छ । जिल्लामा ९१७ हेक्टरमा स्याउ बगैँचा विस्तार भएको छ । त्यसमध्ये ७६ हेक्टरमा हाइब्रिड र ८४१ हेक्टरमा स्थानीय जातका स्याउ लगाइएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते बिहीबार