काठमाण्डौं – प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान तथा एयर ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । मौसममा केही सुधार देखिए पनि पर्याप्त दृश्यता नखुल्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा ढिलाइ भएको छ ।
विमानस्थल कार्यालयका अनुसार सामान्य अवस्थामा आँखाले हेरेर उडान सञ्चालन गर्न कम्तीमा ५ हजार मिटर दृश्यता आवश्यक पर्छ । काठमाडौंमा बिहान ३ देखि ४ हजार मिटर आसपास रहेको दृश्यता अहिले सुधार हुँदै गए पनि आन्तरिक उडान उपकरणको सहायताबाट सञ्चालन भइरहेका छन् ।
मौसम प्रतिकूल रहे पनि आन्तरिक उडानहरू अधिकांश गन्तव्यमा सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय उडानमा भने जहाजको चाप र कम दृश्यताका कारण उडान तथा अवतरणको क्रम व्यवस्थापन गर्न कठिनाइ भएको छ । केही जहाजलाई काठमाडौंको आकाशमै होल्ड गराइएको छ ।
उडान होल्ड तथा ढिलाइका कारण त्रिभुवन विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको चाप बढेको छ । मौसम तथा हवाई चापको अवस्था हेरेर जहाजलाई पालैपालो अवतरण गराउने व्यवस्था मिलाइएको विमानस्थल एयर ट्राफिक कन्ट्रोलले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्