दैलेख – राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले आइतबार जिल्ला सदरमुकाम दैलेखबजारमा एक समाराेहवीच उद्घाटन गर्नुभयाे । संस्थाका अध्यक्ष लालबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गाेपाल श्रेष्ठले गर्नुभएकाे थियाे ।
सहकारीले सदस्यको बचतलाई उत्पादन, उद्यम तथा आयआर्जनसँग जोड्दै आर्थिक रूपान्तरणमा योगदान पुर्याउनुपर्ने बताउनुभयो । सहकारीमा सदस्यको विश्वास कायम राख्न पारदर्शिता, वित्तीय अनुशासन र जिम्मेवार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । स्थानीयस्तरमा रोजगारी र उत्पादन बढाउने क्षेत्रमा सहकारीको लगानी विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो ।
सहकारीका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार नरेन्द्रबहादुर थापाले संस्थाको स्थापनादेखि अहिलेसम्म सदस्यको आर्थिक हितलाई केन्द्रमा राखेर सहकारी अघि बढेको बताउनुभयो । बदलिँदो आर्थिक अवस्थाअनुसार सदस्यको आवश्यकता पहिचान गरी बचत, ऋण तथा उद्यमशीलताका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।
सल्लाहकार भक्तिराम शर्माले सहकारीको दिगोपनका लागि सदस्यको नियमित सहभागिता, बचत गर्ने बानी र संस्थाप्रतिको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो । सहकारीमा जम्मा भएको पुँजीलाई सुरक्षित तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै सदस्यको जीवनस्तर सुधारमा प्रत्यक्ष लाभ पुग्ने काम गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
अर्का सल्लाहकार महेन्द्रप्रसाद न्यौपानेले सहकारीको आर्थिक कारोबारलाई व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्ने बताउनुभयो । संस्थाले आर्जन गरेको उपलब्धिलाई थप मजबुत बनाउन आन्तरिक सुशासन, नियमित लेखा परीक्षण र जिम्मेवार वित्तीय व्यवस्थापनमा निरन्तर ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सल्लाहकार भीमबहादुर बिष्टले सहकारीको वास्तविक शक्ति सदस्य नै भएकाले उनीहरूको आवश्यकता, सुझाव र सहभागितालाई संस्थाको निर्णय प्रक्रियामा प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारीले बचत तथा ऋणमा मात्र सीमित नभई कृषि, पशुपालन, साना व्यवसाय तथा अन्य उत्पादनमूलक क्षेत्रमा सदस्यलाई जोड्नुपर्ने उहाँले बताउनुभयो ।
साधारणसभामा सहकारीले विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने सदस्य तथा कर्मचारीलाई सम्मानसमेत गरेको छ । उत्कृष्ट शेयर पुँजीतर्फ चन्द्रवती सापकोटा, उत्कृष्ट बचततर्फ रामबहादुर थापा र प्रेमबहादुर बिष्ट, बाल बचततर्फ युवराज शाही र श्रृष्टि उपाध्याय, उत्कृष्ट महिला सदस्यमध्ये श्रृष्टि शर्मा, दिपा गारुडा र संगीता कुमारी बिष्ट, ज्येष्ठ सदस्यतर्फ लिलाराम कोइराला, पूर्णप्रसाद कोइराला र पदमबहादुर जिसी, सल्लाहकारतर्फ महेन्द्रप्रसाद न्यौपाने तथा कर्मचारीतर्फ शिवराज रेमी र छविलाल बस्नेतलाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले ऋणको ब्याजबाट २५ लाख २० हजार ५५५ रुपैयाँ ४६ पैसा, दूध बिक्रीबाट ६२ लाख ३६ हजार ३९२ रुपैयाँ र विविध आम्दानीतर्फ ४३ हजार २ सय रुपैयाँ आम्दानी गरेको कोषाध्यक्ष पार्वती बोगटीले जानकारी दिनुभयाे । संस्थाको आर्थिक कारोबार, खर्च तथा बचतको विवरण प्रस्तुत गर्दै सदस्यको पूँजीलाई थप प्रभावकारी क्षेत्रमा परिचालन गर्ने नीति अघि बढाइएको उहाँले प्रस्तूत गर्नुभएकाे प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तूत गरी छलफल गरिएको थियो । साधारणसभाले संस्थाको आगामी नीति, कार्यक्रम तथा सदस्य केन्द्रित सेवा विस्तारका विषयमा नीतिगत निर्णय गरेको जनाइएको छ । अधिवेशन समेत भएकाेले नीतिगत निर्णयपछि सहकारीको नयाँ नेतृत्व चयन गर्ने याेजना छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र काेषाध्यक्ष समेतकाे अध्यक्ष पदमा दावी गरेकाे बताइएकाे छ ।












प्रतिक्रिया दिनुहोस्