२०८३ मंसिर ४ , शुक्रबार (2026 Nov 20, Friday)

कारागारमा महिला बन्दी मृत भेटिइन्



सुर्खेत – सुर्खेत जिल्ला कारागारभित्र १९ वर्षीया महिला बन्दी संगिता शाही मृत अवस्थामा फेला परेकी छन् । दैलेखको गुराँस गाउँपालिका–४ की शाहीको शव बिहीबार राति कारागारभित्रै शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका क्रममा रहेकी शाहीलाई जिल्ला अदालत सुर्खेतले मंसिर १ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसपछि उहाँ कारागारको ५ नम्बर कोठामा रहँदै आउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहोराले शाही कारागारभित्र मृत भेटिएको पुष्टि गर्नुभएको छ ।

कारागार प्रशासक रीता बरैले घटनास्थलको प्रहरी मुचुल्का तयार पार्ने र शव परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ ।

कारागारभित्रै बन्दीको मृत्यू भएपछि घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान आवश्यक देखिएको छ । प्रहरी अनुसन्धान र शव परीक्षणको नतिजापछि मात्रै घटनाबारे थप विवरण खुल्नेछ ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार