२०८३ कात्तिक २९ , आइतबार (2026 Nov 15, Sunday)

दैलेख सदरमुकाममा मंसिर १ देखि वान–वे



दैलेख – वाहिर जिल्ला जानुपर्नेहरु दैलेखबाट वाहिरिने रुट पर्मिट पाएको सकड दैलेख–सुर्खेत मात्र हो । ६५ किलोमीटरको यो यात्रामा अहिले दैनिक ४७ वटा फोर्स र इभि गाडी आउजाउ गर्छन् । ३० वर्षदेखि चल्न थालेको सुर्खेत–दैलेखमा सुरुमा एक–दुइटा ३२ सिटे बस चल्थे । यात्रुहरुले चढ्नै छोडेको कारण अहिले बसहरु बिस्थापित भइसके । अहिले १२–१४ सिटे हाइस–इभि गाडी चल्छन् ।

दैलेख सदरमुकामको मुख्य केन्द्र देवकोटा चोक अर्थात अदालत र प्रहरीको पछिल्तिरको अस्थायी बसपार्कमा अहिले ती हाइस–इभि गाडी पार्किङ गर्ने स्टेशन बनेको छ । तर मंसिर १ गतेदेखि सार्वजनिक यातायातका गाडीहरुलाई डेढ किलोमीटर टाढा काँडाचौर बसपार्कमा पुग्नुपर्ने र त्यहीबाट यात्रु लिएर बजारको दक्षिणी छेउ भगवतीटोलस्थित छुट काउण्टरबाट चलानी लिएर सुर्खेततर्फ प्रस्थान गर्नेछन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखले कात्तिक १८ गते यातायात व्यवसायीहरु समेतको सहभागितामा नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र सरोकारवालाहरुको सर्वपक्षीय बैठकले सुर्खेतबाट आएका सबै यात्रुवाहक गाडीहरु मालपोतदेखि सदरमुकामको वाहिरी सडकबाट जिल्ला प्रशासन, कारागार नजिकबाट रामपुर डाँडा हुँदै काँडाचौर बसपार्क पुग्न पर्ने अनिवार्य गरिएको छ ।

दिउँसो वा अपरान्हसम्म सुर्खेत फर्किने सबै गाडीहरु काँडाचौरबाट टिकक काट्ने सदरमुकामको भित्री बजार हुँदै घरेलु कार्यालय, गणेशचोक, देवकोटाचोक, पुरानोबजार हुदै भगवतीटोलको छेउमा रहेको छुटकाउण्टरबाट अन्तिम चलानी काटेर यात्रु वाहक गाडीहरु सुर्खेत तर्फ प्रस्थान गर्नेछन् । यात्रुवाहक गाडीहरु अनिवार्य रुपमा यही रुटमा वान–वे यातायात प्रणाली परिचालन गरिने योजना छ ।

यातायात व्यवस्थापनको जिम्मेवारी भए अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको सर्वपक्षीय बैठकको निर्णय कार्यान्वयन सहजताका लागि २ साताको समय दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बताउनुभयो । काँडाचौरको बसपार्क र भगवतीटोलको छुटकाउण्टरमा पहिलेको संरचना सुधार र व्यवस्थापन तयारीको लागि पनि २ साताको समय दिइएको उहाँको भनाई छ ।

पहिले सञ्चालनमा आएको काँडाचौरको बसपार्क र भगवतीटोलको छुटकाउण्टरमा बिद्युत जडान, खानेपानी र शौचालय सुचारु गराइनुसंगै पार्किङ स्थलको सुधार गरिएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले बताउनुभयो । पहिलेका संरचना क्षति भइसकेको कारण ती दुई वटै बसपार्कमा टिकट काउण्टर बनाउने, प्रहरी बिटपोष्ट सुधार गर्न पनि लागिएको मेयर शर्माले जानकारी दिनुभयो ।

सदरमुकामको यातायातलाई व्यवस्थित गर्न, बढ्दो सवारी चापलाई व्यवस्थित गर्न यात्रुवाहक गाडीहरुलाई वान–वे यातायात प्रणाली लागू गरिएको हो । सर्वपक्षीय बैठकले यात्रुवाहक गाडीहरुलाई यो नियम लागू गरिए जस्तै मालवाहक ट्रक तथा ठूला गाडीहरुलाई सदरमुकामभित्र विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निषेध गरिएको छ । उनीहरुले दिउँसो ३ बजेपछि मात्र सदरमुकाममा प्रवेश पाउनेछन् ।

यात्रुहरुको सुविधा र यातायात व्यवस्थापन गराउन वान–वे यातायात प्रणाली लागू गरिएकोले यसको कडाईका साथ पालना गराइने जिल्ला ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज बरिष्ठ सई जयसिंह गुरुले बताउनुभयो । दुई वटै बसपार्कमा भौतिक व्यवस्थापन गरिदिए आफूहरु गाडी चलाउन आफूहरु पनि सहमत रहेको मध्यपश्चिम यातायात व्यवसायी संघका दैलेख इञ्चार्ज गणेश थापाको भनाई छ ।

पटकपटक गरी ८–१० करोड खर्च गरी बनाइएको काँडाचौर बसपार्कलाई सुचारु नगरे संरचनाहरु भग्नावशेष बन्ने हुँदा श्रोतसाधनको सदुपयोग गर्न नगरपालिका जिम्मेवार हुनुपर्ने नारायण नगरपालिका–६ की अगुवा महिला रिना पोखरेलको टिप्पणी छ । वान–वे यातायात प्रणाली लागू हुने खबर आफूहरु पनि उत्साहित भएको अटोरिक्सा व्यवसायीहरु खेमराज थापाले सुनाउनुभयो ।

काँडाचौर बसपार्क पुनः सञ्चालन हुने जानकारी पाएर आफूहरुलाई खुशी लागेको काँडाचौरकी होटल व्यवसायी गोमा केसीले बताउनुभयो । उहाँले भन्नु दैलेख सदरमुकाम आसपास घर भएका धेरै गाडी धनीले बेलुका बास बस्नु पर्दा गाडी घरमै लिने गरेको सुनाउदै ती गाडी समेत विहान काँडाचौर बसपार्कबाटै टिकट काटेर यात्रु लिएर जाने अनिवार्य गराउन उहाँको आग्रह छ ।

मंसिर १ गतेदेखि वान–वे यातायात प्रणाली लागू हुने कुराले भगवतीटोलको छुटकाउण्टरको पहिलेको संरचना सुधार र सरसफाईमा स्थानीयहरु स्वतस्फूर्त तरिकाबाट जुटेका छन् । पहिले पनि संरचना बनाएर चलेको छुटकाउण्टर नगरपालिकाको बेवास्ताले लथालिंग भएकोले अब कडाईका साथ कार्यान्वयन गराउनपर्ने भगवतीटोलकी अगुवा महिला गीता रम्तेलको माग छ ।

भगवतीटोलको छुटकाउण्टर व्यवस्थित गर्ने कामको सिलसिलामा पुरानोबजारबाट बसपार्क नजिक सडक चौडापार्न आफ्नो जग्गा समेत प्रदान गर्नुभएका स्थानीय व्यवसायी योगेन्द्र सिग्देल नगरपालिकाको डोजर चालकलाई सडकको भित्ता चाप्न अह्राइरहनुभएको थियो । यो दृश्यले भगवतीटोलको छुटकाउण्टरमा स्थानीयको लगाव र उत्सुकता झल्काएको छ ।

संघीयतापछि सुस्ताएको सदरमुकामको व्यापार सुधार गर्न यहाँको यातायात व्यवस्थापन, यहाँका मुख्य पर्यटनस्थलहरुको संरक्षण तथा प्रवर्द्धनमा नारायण नगरपालिकाले दिलचस्पीका साथ ठोस काम गर्नुपर्ने र यहाँका नागरिकहरुले पनि दैलेखप्रति वाहिरबाट आएका पाहुनाहरुप्रति मीठो आतिथ्यता झल्काउनुपर्ने दैलेखका पत्रकार बिशाल सुनारको टिप्पणी छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार