बर्दिया – बर्दियामा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यू भएको छ भने १५ जना घाइते भएका छन् । यसैगरी, बाँकेको कोहलपुरमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यू भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा दिउँसो पौने ४ बजे गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–५ चिल्लरियाका ३४ वर्षीय हुकुमबहादुर खत्री र उहाँका बुबा दलबहादुर खत्रीको मृत्यू भएको हो ।
गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा ५ ख ५६०५ नम्बरको गाडी र विपरीत दिशातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको चो १ सिएम ९४३७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । मोटरसाइकललाई ठक्कर दिएपछि गाडी सडकमा पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका बुबा दलबहादुरलाई र छोरा हुकुमबहादुरलाई जिल्ला अस्पताल गुलरियाका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले बताउनुभयो । दुर्घटनामा गाडी चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीसहित १५ जना घाइते भएका छन् ।
यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा दिउँसो नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको म.प्र.०२–००१ ख ३३५ नम्बरको इडी गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा ५८ वर्षीया दमन्ती सापकोटाको मृत्यू भएको छ । उहाँ कोहलपुर नगरपालिका–२ सिद्धनगरकी बासिन्दा हुनुहुन्थ्यो ।









प्रतिक्रिया दिनुहोस्