काठमाण्डौं – आयुर्वेद चिकित्साका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन यो दिवस मनाउने गरिन्छ ।
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा यो जयन्ती मनाउने परम्परा छ । आयुर्वेदका चिकित्सकले यस दिनलाई सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गरेका छन् ।
नेपालमा काठमाण्डौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको उक्त क्याम्पस २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा छ । अहिले क्याम्पस कीर्तिपुरमा सरेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवका अनुसार आज धन्वन्तरीको पूजा तथा आराधनाका कार्यक्रम तय भएका छन् । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो ।
दिवसका अवसरमा सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी कोटेश्वरलगायतका संस्थामा कार्यक्रम हुँदैछन् । सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा पछिल्लो समय आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको छ ।









प्रतिक्रिया दिनुहोस्