दैलेख – दैलेख सदरमुकामको अव्यवस्थित यातायात र बजार व्यवस्थापन सुधार गर्न काँडाचौर बसपार्क स्थायी रूपमा सञ्चालन गर्ने निर्णयसहित १७ बुँदे सहमति गरिएको छ । आगामी मंसिर १ गतेदेखि लागू हुने गरी गरिएको निर्णयमा सवारी आवागमन व्यवस्थित गर्ने, पार्किङ र मालसामान लोड–अनलोडको समय निर्धारण गर्ने तथा सडक र सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषय समेटिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको अध्यक्षतामा बुधबार नारायण नगरपालिकाको सभाहलमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नारायण नगरपालिका–६ स्थित काँडाचौर बसपार्क स्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बसपार्कको सुरक्षाका लागि अस्थायी प्रहरी बिट स्थापना गर्न माग गर्ने र आवश्यक संरचना तथा फर्निचर नगरपालिकाले व्यवस्था गर्ने सहमति भएको छ । विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न उद्योग वाणिज्य संघसँग समन्वय गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले व्यवस्थापन गर्नेछ ।
जिल्ला प्रहरी कार्यालय नजिक रहेको पुरानो बसपार्कमा ग्यारेजमा राखिएका सवारीबाहेक अन्य सबै गाडी काँडाचौरमा रात्री बास बस्ने व्यवस्था मिलाइनेछ । नारायण नगरपालिका–१ को भगवती टोल नजिक तत्काल छुट बस काउन्टर र अस्थायी प्रहरी बिट स्थापना गरिनेछ । निर्णय कार्यान्वयनमा नारायण नगरपालिका–१, ३, ६, ७, ८ र ९ का वडा अध्यक्षहरूले अगुवाइ गर्ने सहमति भएको छ ।
मालवाहक ट्रकबाहेक फोर्स, विद्युतीय सवारी र यात्रुवाहक गाडीका लागि जिल्ला प्रशासन कार्यालय, कारागार, प्रहरी कार्यालय र डिभिजन वन कार्यालय हुँदै मध्यपहाडी राजमार्गबाट काँडाचौर पुग्ने एकतर्फी मार्ग कायम गरिनेछ ।
बसपार्क तथा छुट काउन्टर क्षेत्रमा फोहोर व्यवस्थापनको योजना नगरपालिकाले तत्काल बनाउने र बजारका सार्वजनिक जग्गा अतिक्रमण गरी राखिएका पसल तथा सडकपेटीका सामान हटाइने निर्णय पनि गरिएको छ । मालवाहक ट्रक तथा ठूला सवारीले बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सामान लोड–अनलोड गर्न पाउनेछन् ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बजारको यातायात र ट्राफिक जाम नियन्त्रणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले सबै राजनीतिक दल एकजुट भएर निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सभापति मणिराम रेग्मीले नागरिकको सुविधा र व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने बताउनुभयो भने नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज प्रेमबहादुर कटुवालले सदरमुकामको व्यवस्थापनले समग्र जिल्लाको पहिचानमा प्रभाव पार्ने धारणा राख्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव रमेश केसीले नेतृत्व परिवर्तनसँगै निर्णय बदलिने प्रवृत्ति अन्त्य गरी सहमति दीर्घकालीन रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । वडा नं. १ का अध्यक्ष सन्देश श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष जनक न्यौपानेले पनि विगतका निर्णय कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै यसपटक बसपार्क सञ्चालन र बजार व्यवस्थापनलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापा, नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुराग र नेपाल पत्रकार महासंघका अध्यक्ष कमल शर्माले पनि यातायात तथा बजार व्यवस्थापनको समस्या दोहोरिन नदिन निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्