सुर्खेत – मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश समितिले १० वटै जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको सूचना सङ्कलन र रिपोर्टिङ गर्न जिल्ला संयोजक चयन गरेको छ । सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बीरेन्द्रनगरमा बिहीबार बसेको त्रैमासिक बैठकले सहसंयोजक, विषयगत उपसमितिका संयोजकहरु र १० जिल्लामा जिल्ला संयोजक चयन गरेको हो ।
बैठकले प्रदेश समितितकाे सहसंयोजकमा अधिवक्ता गीता कोइराला, महिला–बालबालिका तथा सीमान्तकृत उपसमितिको संयोजकमा सिसिआर कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्य र शिक्षा, स्वास्थ्य, वातावरण तथा विभेदविरुद्धको उपसमितिको संयोजकमा नवज्योति केन्द्रकी जरमाया बाठालाई चयन गरेको छ ।
जिल्ला संयोजकमा सुर्खेतमा शर्मिला बिसी, दैलेखका लागि केडका अनुप नेपाली, जाजरकोटका लागि फियान नेपालकी कविता रेग्मी, हुम्लाका लागि किर्डाक नेपालका बिन्दुलाल रेग्मी, सल्यानका लागि सुन्दर नेपालका भुपेन्द्र कँडेल, डोल्पाका लागि फेडोकी खगिसरा वली, जुम्लाका लागि सिसिआरका टेकराज आचार्य, कालिकोटका लागि सोसेक नेपालकी शुसीला गिरी, मुगुका लागि राष्ट्रिय अपाङ्ग महासङ्घकी रत्ना राना र रुकुम पश्चिमका लागि डब्लुएचआरकी शीतल सिंह राठौर ताेकिनुभएकाे छ ।
जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लाको मानव अधिकार अवस्था, उल्लङ्घन तथा ज्यादतीका घटना र मानव अधिकार रक्षकले भोग्नुपरेका समस्या तथा चुनौतीबारे सूचना सङ्कलन र समन्वय गर्नेछन् । सञ्जालका संयोजक ढकालले प्रदेशभरको मानव अधिकार अवस्थालाई ध्यानमा राखेर जिल्ला संयोजकको अवधारणा अघि बढाइएको बताउनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र मानव अधिकार रक्षकबीचको समन्वय प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो । नेपाल सरकारले तयार पारेकाे मानव अधिकार सम्बन्धी छैटाैं राष्ट्रिय कार्ययाेजना कार्यान्वयन निम्तिम जिल्लाजिल्लामा सञ्जाल मार्फत पहल गरिने उहाँले बताउनुभयाे ।
बैठकले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुर्खेतका नौवटै स्थानीय तहमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने र अरु ९ जिल्लामा पनि महिला माथि हुने गरेका लैंगिक हिंसा अन्त्यका लागि निम्ति प्रभावकारी क्रियाकलापहरु गर्न नागरिक समाज संस्था र स्थानीय सरकारसंग समन्वयात्मक रुपमा काम गर्ने निर्णय भएकाे संयोजक सुवेदीले जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्