दैलेख – नेपाली काँग्रेसको देउवा पक्षले बिहीबार दैलेखमा जिल्ला अधिवेशन गरेको छ । अधिवेशनमा प्रतिनिधिसभाका पूर्वसांसद रंगबहादुर शाहीले देउवा पक्षले पार्टीको आधिकारिकता पाउने बलियो आधार रहेको दाबी गर्दै गगन थापा नेतृत्वको समूहमा रहेका काँग्रेसजनलाई समेत एकीकृत गरिने बताउनुभयो ।
पूर्वसांसद रंगबहादुर शाहीले पार्टीको आधिकारिकता विवादमा देउवा पक्षले उठाएका कानुनी तथा संगठनात्मक प्रश्नको निरूपणबाट आफूहरूको पक्षमा निर्णय आउने आधार रहेको बताउनुभयो । पार्टीको विधि, विधान र संगठनात्मक प्रक्रियालाई ध्यानमा राखेर आधिकारिकताको विषय टुंगिनुपर्ने उहाँको भनाइ थियो ।
महाधिवेशन प्रतिनिधि भगवतीप्रसाद उपाध्यायले पार्टीभित्र विधि, विधान र संगठनात्मक अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । आपसी असमझदारीलाई संवादबाट समाधान गर्दै नेता तथा कार्यकर्ता बीच सहकार्यको वातावरण बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
महाधिवेशन प्रतिनिधि एकेन्द्र पन्तले पार्टीको संगठनात्मक निरन्तरता र विधि–विधानको पालना आफ्नो प्राथमिकता रहेको बताउनुभयो । पार्टीभित्रका विवादलाई संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्दै कार्यकर्ताको भावना समेटेर संगठन अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
महाधिवेशन प्रतिनिधि दिनेश हमालले पार्टीको आन्तरिक विवाद समाधान गर्दा कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको भूमिकालाई सम्मान गर्नुपर्ने बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाउँदै संगठनका गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न आफू देउवा पक्षको अधिवेशन प्रक्रियामा सहभागी भएको उहाँको भनाइ थियो ।
महाधिवेशन प्रतिनिधि गणेशकुमार शाहीले पार्टीको संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच विश्वास र सहकार्य आवश्यक रहेको बताउनुभयो । पार्टीभित्रका फरक मतलाई सम्मान गर्दै संगठनात्मक एकता कायम गर्नुपर्ने धारणा राख्दै उहाँले आफूहरू पार्टीको भविष्य र कार्यकर्ताको भूमिकालाई प्राथमिकता दिएर अघि बढ्न चाहेको बताउनुभयो ।
नेपाली काँग्रेस दैलेखका सचिव नारायण रेग्मीले स्थानीय तहका नेता तथा कार्यकर्ताका भावना र संगठनात्मक आवश्यकतालाई पार्टीको निर्णय प्रक्रियामा समेट्नुपर्ने बताउनुभयो । पार्टीभित्रको विवादलाई लम्ब्याउनुभन्दा संवाद र सहमतिबाट समाधान खोज्दै संगठनलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सचिव रेग्मीले काँग्रेसभित्र देखिएको मतभेदलाई स्थायी विभाजनका रूपमा लिन नहुने बताउनुभयो । पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउँदै संगठनलाई बलियो बनाउने प्रयास गरिने उल्लेख गर्दै उहाँले फरक समूहमा रहेका काँग्रेसजनलाई समेत सहकार्यमा ल्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।
देउवा पक्षका नेपाली काँग्रेस दैलेखका संयोजक मिलन विश्वकर्माले जिल्लामा संगठनलाई सक्रिय र व्यवस्थित बनाउँदै नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले अधिवेशन अघि बढाइएको बताउनुभयो । पार्टीमा देखिएको मतभेद समाधान गरी सबै काँग्रेसजनबीच सहकार्यको वातावरण निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसको आधिकारिकता सम्बन्धी विवाद कानुनी प्रक्रियामा पनि रहेको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको मान्यतालाई सर्वोच्च अदालतले यसअघि सदर गरेको थियो । तर देउवा पक्षको पुनरावलोकन निवेदनमा सर्वोच्चले २०८३ साउन २१ गते पुनरावलोकनको अनुमति दिएपछि विवादको अन्तिम निरूपण हुन बाँकी रहेको सार्वजनिक विवरण छ ।












प्रतिक्रिया दिनुहोस्