२०८३ भदौ २५ , बिहीबार (2026 Sep 10, Thursday)

सडकपेटीमै शिशु जन्मिएपछि फाेटाे भाइरल



राजविराज – सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमै एक महिलाले शिशु जन्माएको फाेटाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ । अस्पतालअगाडिको सडकपेटीमा महिलाले शिशु जन्माएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको हो ।

राजविराज नगरपालिका–१४ पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवानलाई सुत्केरी व्यथा लागेपछि परिवारले अस्पताल पुर्‍याएका थिए । परिवारका अनुसार अस्पतालले रगत परीक्षणलगायतका लागि ३ हजार बढी खर्च लाग्ने बताएपछि आर्थिक अभावमा उपचारमा समस्या भएको थियो ।

रकम जुटाउन सहयोग खोज्दै श्रीमान वाहिर निस्किएका बेला बबिताले करिब साढे दुई घण्टाको व्यथापछि बिहान साढे ४ बजे अस्पतालअगाडिको सडकपेटीमा शिशु जन्माउनुभएको थियाे । शिशु जन्मिएपछि गाइनो वार्डमा पुग्दा समेत स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीबाट दुर्व्यवहार भएको परिवारले गुनासो छ ।

घटना सामाजिक सञ्जालमा फैलिएपछि अस्पतालले आमा र शिशुलाई अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गरेको जनाएको छ । आर्थिक अभावका कारण महिलाले सडकपेटीमै शिशु जन्माउनुपरेको विषय रास्वपाका सांसद खगेन्द्र कर्णले बिहीबारकाे प्रतिनिधिसभाकाे शून्य समयमा  उठाउनुभएकाे थियाे ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार