२०८३ साउन ५ , मंगलबार (2026 Jul 21, Tuesday)

स्पेन बन्यो विश्वविजेता



स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्व च्याम्पियन बन्दै फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको हो ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा वैकल्पिक खेलाडी फेरान टोरेस नायक बने। उनले खेलको १०६औँ मिनेटमा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई छक्याउँदै गरेको एकमात्र गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

खेल अतिरिक्त समयतर्फ धकेलिँदै गर्दा अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्पेनले खेलमाथि पूर्ण नियन्त्रण जमाउँदै निर्णायक अग्रता लिएको थियो।

३९ वर्षीय लिओनल मेस्सी खेलभर प्रभाव जमाउन असफल रहे। लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना अधुरै रहँदा स्पेनको उत्कृष्ट रक्षापंक्ति र आक्रामक खेलशैली अगाडि अर्जेन्टिनी टोली निरीह देखिएको थियो।

प्रतियोगिताभरि केवल एक गोल मात्र खाएको स्पेनले सामूहिक प्रदर्शनको बलमा उपाधि जितेको हो। क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराएको स्पेनले फाइनलमा पनि प्रभावशाली प्रदर्शन गर्दै विश्व फुटबलको नयाँ च्याम्पियन बन्न सफल भयो ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार