
दैलेख – पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले तीन जना उत्कृष्ट कृषकहरुलाई पुरस्कार दिएको छ । कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाह र जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही समेतको उपस्थितिमा पुरस्कार दिइएको हो ।
नारायण नपा–६ को स्वस्तिमा एग्रो कृषि फर्मकी पार्वती रेग्मी, आठबीस नपा–५ को कर्णाली कृषि तथा पशुपंक्षी फर्मका निरज माझी र भैरबी गापा–७ का ग्रामीण पशुपंक्षी तथा एग्रो फर्मका राजेश कँडेलले क्रमशः ३०, २५ र २० हजार नगद सहित प्रथम, द्वितीय र तृतीय पुरस्कार पाउनुभएको छ ।
पुरस्कार वितरणपछि मन्त्री शाहले सरकारले लगानी गरे अनुसार प्रतिफल निकाल्न युवाहरुलाई कृषि व्यवसायमा आवद्ध गर्न आवश्यकता रहेको बताउनुभयो । आजै ११ वटै पालिकाका पशुपंक्षी शाखाका प्रमुखहरु सहभागितामा जिल्ला स्तरीय समीक्षा गरेको अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख डा. ऋषभ गुरागाईंले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्