२०८३ भदौ २२ , सोमबार (2026 Sep 8, Tuesday)

पहिरोको जोखिममा परेका परिवारलाई खाद्यन्न सहयोग



दैलेख – पहिरोको सम्भावित जोखिमका कारण स्थानान्तरण गरिएका १० परिवारलाई दैलेख क्षेत्र नं. १ की प्रतिनिधिसभा साँसद बासना थापाले खाद्यन्न सहयोग गर्नुभएको छ । नमूनाबस्तीबाट नारायण नगरपालिकाले स्थानान्तरण गरेको स्थान कृषि हाटबजार केन्द्रमा खाद्यन्न वितरण गरिएको हो ।

साँसदका ससुरा डिलबहादुर थापाले हरेह परिवार २५ केजी चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न सामग्री हस्तान्तरण गर्नुभयो । नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश श्रेष्ठले आपतकालिन अवस्था रहेका परिवारलाई साँसद थापाको सहयोग निम्ति नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभयो ।

२०६० सालमा सदरमुकाममा मजदूरी गर्ने बादी समुदाय १४ परिवारका लागि घरवास बनाउन स्थानीय प्रशासनले उपलब्ध गराई नारायण नगरपालिका–१ गणेशमन्दिर नजिक बसाइएको ठाउँलाई नमूनाबस्ती नाम दिइएको छ । थपिदै आएका उनीहरुका आफन्तले भिरालोमा घर बनाएपछि जोखिम बढेको छ ।

बस्तीमा अहिले ४५ परिवार थापिएका छन् । भिरकाल्नामा बनाइएका घरहरु भत्किएर पटकपटक गरी ४ जनाको ज्यान गइसकेको छ । पहिरोको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेख र नारायण नगरपालिकाको सहयोगमा आइतबार जोखिममा रहेका १० परिवार कृषि संकलन केन्द्रमा स्थानान्तरण गरिएको हो ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार