२०८३ असोज २७ , मंगलबार (2026 Oct 13, Tuesday)

रास्वपा थाल्याे साँसद खगेन्द्र माथि छानबिन



काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साँसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन थालेको छ । एक महिलालाई धम्की दिएको र ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका आरोप र उठेका प्रश्नबारे ध्यानाकर्षण भएको छ । पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएको छ ।

रास्वपाले महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील मानेको छ । आरोपबारे अनुसन्धान गर्न राज्यका सम्बन्धित निकायलाई समेत सहयोग गर्ने पार्टीले जनाएको छ ।

छानबिन प्रक्रिया अघि बढाएको रास्वपाले साँसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । उनीमाथि सार्वजनिक भएका आरोपबारे छानबिनबाट आउने निष्कर्ष र सम्बन्धित निकायको अनुसन्धानपछि थप तथ्य स्पष्ट हुनेछन् ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार