दैलेख – युवा मानव अधिकार रक्षकहरुका लागि मानव अधिकार सवालमा २ दिने अन्तरपुस्ता कार्यशाला दैलेखमा बुधबार सम्पन्न भएको छ । एईआईएनको साझेदारीमा रोयम नेपालले कर्णालीका १० जिल्लामा सञ्चालन गरेको मानव अधिकार तथा सामाजिक न्याय अभियान परियोजनाको सहकार्यमा युवा मानव अधिकार रक्षक सञ्जालले कार्यशाला भएको हो ।
मानव अधिकारका विभिन्न विधा तथा क्षेत्र विषयमा राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालय प्रदेश कार्यालय इञ्चार्ज रमेश थापा, मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाल, पत्रकार अमर सुनार र अधिकारकर्मी रमा श्रेष्ठले युवा मानव अधिकार रक्षकहरुको सवाल पहिचान, सञ्जालका काम कर्तव्य र जिम्मेवारी, सामाजिक सवालहरु र समस्या समाधानका लागि सरोकारवालाहरुको सहकार्य रणनीति बारे प्रशिक्षण दिनुभएको थियो ।
युवा मानव अधिकार रक्षक सञ्जालका संयोजक नारायण रिजालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमल शर्मा लगायत शुभकामना दिनुभएको थियो ।
कर्णालीका १० जिल्लामा सञ्चालन गरेको मानव अधिकार तथा सामाजिक न्याय अभियान परियोजनाले हरेक २ जिल्लाका युवा मानव अधिकार रक्षकहरुलाई प्रशिक्षण गराउने क्रममा चौथो चरणमा कालिकोट र दैलेखका २५ जना युवाहरुलाई प्रशिक्षित गराइएको रोयम नेपालका परियोजना संयोजक सन्तोष बिकले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्