दैलेख – मानव अधिकारका लागि एकल महिला समूहकी संस्थापक तथा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले एकल महिलाको अधिकार, सम्मान र आत्मनिर्भरतालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । बुधबार दैलेख सदरमुकाममा आयोजित मानव अधिकारका लागि एकल महिलाको जिल्ला भेलामा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले एकल महिलामाथि अझै पनि विभेद र सामाजिक असमानता कायम रहेको उल्लेख गर्नुभयो ।
डा. थापाले एकल महिलालाई दया होइन, अवसर र सम्मान आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा, रोजगारी, स्वास्थ्य तथा निर्णय प्रक्रियामा एकल महिलाको समान पहुँच सुनिश्चित गर्न स्थानीय तहदेखि संघीय सरकारसम्म जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले महिलाको आत्मसम्मान र अधिकार संरक्षणका लागि सामाजिक सोच परिवर्तन आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै हिंसा, विभेद र बहिष्करणविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । एकल महिलाले भोग्दै आएका समस्या समाधानका लागि कानुनी, सामाजिक तथा आर्थिक सशक्तीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले संगठित प्रयासबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी एकल महिलाहरूले आफूहरूले भोगिरहेका सामाजिक, आर्थिक तथा पारिवारिक समस्याबारे धारणा राखेका थिए । भेलामा जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी महिलाहरूले अधिकार संरक्षण, आयआर्जन तथा सामाजिक सम्मानका सवालमा राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए ।
मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष रत्ना अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाले महिलाभित्र एकल महिलाकाे पींडा बारे आफू जानकार रहेकाे बताउनुभयाे । कार्यक्रमकाे आरम्भमा महिलाहरुले डा. थापाकाे टाेलीलाई फूलमालाले स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्