२०८३ असोज ९ , शुक्रबार (2026 Sep 26, Saturday)

त्रिभुवन राजपथमा सवारी समय तोकियो



काठमाण्डौं – फिसलिङ र कृष्णभीरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं–हेटौंडा आवतजावतका लागि त्रिभुवन राजपथ प्रयोग गर्न निश्चित समय तोकिएको छ । मकवानपुर प्रशासनले दुवैतर्फका सवारीसाधनका लागि छुट्टाछुट्टै समय र प्रवेश नाका निर्धारण गरेको हो ।

हेटौंडाबाट काठमाडौं जाने सवारीले चौकीटोलबाट शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रवेश पाउनेछन् । शनिबार बिहान ४ देखि ८ बजेसम्म र राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म काठमाडौंका लागि सवारी सञ्चालन गर्न दिइनेछ ।

काठमाडौं–हेटौंडातर्फ आउने सवारीले सिमभञ्ज्याङ चौकीबाट शुक्रबार साँझ ७ देखि राति ११ बजेसम्म, शनिबार दिउँसो १ देखि साँझ ५ बजेसम्म र आइतबार बिहान ७ देखि ११ बजेसम्म मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउनेछन् । तोकिएको समयबाहेक सवारी नचलाउन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले १० चक्काभन्दा लामो तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथमा रोक लगाएको छ । इन्धन र एलपी ग्यास बोकेका सवारीलाई भने सञ्चालन गर्न दिइनेछ । यात्रुवाहक बसको लम्बाइ बढीमा ११ मिटर हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार