
दैलेख – बेस्तडाबजारदेखि खोप तर्फ जाँदै गरेको भे ७ प २९६९ नम्बरको स्कुटी हिजाे साँझ सुनखोलाले बगाएको घटनामा चालक ३८ वर्षीया ज्वालाकुमारी शाहीको घटनास्थलमै मृत्यू भएको र साथमा रहेकी १५ वर्षीया छोरी गरिमा सख्त घाइते भएकी छिन् । घाइतेको दैलेख अस्पतालमा उपचार चलिरहेको छ ।
पानी परेर खोला सामान्य बढेको बेला पार गर्न सकिहालिन्छ भन्ने आत्मविश्वासले खोलामा हालेका स्कूटी चिप्लिएर तल छाँगामा खसेपछि चालकको घटनास्थलमै मृत्यू भएको र छोरी सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।
मृतक ज्वालाकुमारी शाहीका २ छोरा र १ छोरी छन् । उहाँका श्रीमान् राजकुमार शाही आफ्नै लगानीमा बेस्तडादेखि नेपालगञ्जका लागि इभी गाडी चलाउदै आउनुभएको छ । उहाँहरु भगवतीमाई गाउँपालिका–२ रुम घर भई हाल सोही वडाको खोपमा व्यापार गर्दै आउनुभएको थियो ।
मध्यपहाडी राजमार्गले खोपदेखि लोहोरे खोलासम्म सिंगल प्यानको पुल बनाउन पर्ने ५–६ वटा खोलाहरुमा पनि पीसीसी स्ल्याव बनाएको कारण वर्षातको मौसममा यस्ता दुर्घटना हुने गरेका छन् । खहरे खोलाको सामान्य भेल आउदा स्ल्यावमा यातायातका साधन र यात्रुहरुकाे ज्यान जानेकाेहरुकाे संख्या बढेकाे छ ।









प्रतिक्रिया दिनुहोस्