२०८३ भदौ २३ , मंगलबार (2026 Sep 8, Tuesday)

भिडियो बनाउँदा नदीमा खसिन् बालिका



कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१० स्थित महाकाली नदी किनारमा सोमबार भिडियो खिच्ने क्रममा चिप्लिएर १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी छन् । उनी भाई र साथीहरूसँग घुम्न गएकी थिइन् ।

तटबन्धको जालीमाथि चढेर भिडियो बनाउने क्रममा सन्तुलन गुमाउँदा सृष्टि नदीमा खसेको वडा अध्यक्ष चन्द्रबहादुर सिंहले बताउनुभयो । उनी खसेपछि सँगै रहेका साथीहरूले गुहार मागेका थिए ।

जोगबुढा र महाकाली नदी मिसिने संगमस्थल नजिकै घटना भएकाले पानीको बहाव तीव्र छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी समेतको सहयोगमा खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

बालिकाको खोजीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समेत समन्वय भइरहेको छ । खोजी कार्य प्रभावकारी बनाउन नगरपालिकाले भारतीय पक्षलाई औपचारिक पत्र पठाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार