२०८३ भदौ २० , शनिबार (2026 Sep 5, Saturday)

कुन जलविद्युतमा कसरी उद्धार हुदैछ ?



काठमाण्डौं – भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा सम्पर्क विहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ ।

बाढीबाट १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेपछि सयौँ कर्मचारी तथा श्रमिकको अवस्था अझै अज्ञात छ । सुरुङ, भूमिगत विद्युत् गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक तथा विशेषज्ञ टोली परिचालन गरिएको छ ।

त्रिशूली–३ ‘ए’ मा दुई जीवित उद्धार

नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट २१६ घण्टापछि नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई उद्धार गरिएको हो ।

उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार भइरहेको छ । सुरुङबाट एउटा शवसमेत फेला परेको छ । आयोजनामा ४२ जना सम्पर्कविहीन रहेकामा दुई जनाको उद्धार र एक जनाको शव भेटिएपछि अब ३९ जना अझै सम्पर्कविहीन छन् ।

नेपाली सेनाका अनुसार ९३ जनाको संयुक्त टोलीले सुरुङमा खोजी गरिरहेको छ । टोलीले एस्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरी लेदो, ढुंगा तथा बालुवा हटाउँदै सुरुङभित्र प्रवेश गर्ने बाटो बनाइरहेको छ । ठूलो ढुंगा भेटिएपछि ब्लास्टिङ गरेर मार्ग खुलाउने कामसमेत भइरहेको छ ।

त्रिशूली–३ ‘बी’ मा बाटो निर्माण चुनौती

निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धार टोली र ठूला उपकरण घटनास्थलसम्म पुर्‍याउनु मुख्य चुनौती बनेको छ । नेपाली सेनासहितको संयुक्त टोलीले कार्यालय तथा कर्मचारी आवास क्षेत्र पहिचान गरे पनि बाढीले पहुँचमार्ग तहसनहस पारेपछि बाटो निर्माणको काम भइरहेको छ ।

आयोजनाकी उपनिर्देशक लिला अर्यालका अनुसार तीन वटा एस्काभेटरबाट बाटो खन्ने तथा माटो र ढुंगा पन्छाउने काम भइरहेको छ । ठूलो एस्काभेटर पुर्‍याउन डाँडा काट्ने र सम्भव नभए मेसिनलाई साना भागमा विभाजन गरी घटनास्थलमा लगेर पुनः जोड्ने विकल्पमा समेत काम भइरहेको छ ।

आयोजनामा १९१ जना सम्पर्कविहीन छन् । सुरुङमा कार्यरत २३ जना भने हिलो र लेदो कम पसेको भागबाट सुरक्षित रूपमा बाहिर निस्किएका थिए ।

लाङटाङमा दुई शव फेला

रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव फेला परेका छन् । २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी विभिन्न स्थानमा होल बनाएर खोजी गरिरहेको छ ।

आयोजनाका प्रबन्धक विजयमान भट्टराईले बाढीले सुरुङ तथा संरचनामा असामान्य क्षति पुर्‍याएकाले खोजी जोखिमपूर्ण बनेको बताए । सुरुङभित्र पानी, ढुंगा र माटोको अवस्थाका कारण थप व्यक्तिको खोजीमा कठिनाइ भइरहेको उनले उल्लेख गरे ।

माथिल्लो त्रिशूली–१ मा खोजी जारी

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा पनि खोजी जारी छ । नेपाली सेनासहितको टोलीले एक्सेस टनेलबाट करिब २०० मिटरभित्र पुगेर खोजी गर्दा एक शव फेला पारेको छ । अडिट टनेल–३ मा समेत करिब १.८ किलोमिटरसम्म खोजी गरिएको छ ।

टनेलका कतिपय भागमा तीनदेखि चार मिटरसम्म दलदल जमेकाले उद्धार कठिन बनेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, कोरियाली तथा शेर्पा विशेषज्ञ, ड्रोन टोली र तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेर खोजी भइरहेको छ ।

चिलिमेमा ६ जना सम्पर्कविहीन

२० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा नेपाली तथा विदेशी विशेषज्ञसहितको टोलीले खोजी गरिरहेको छ । टोलीले सुरुङभित्र करिब १०० मिटरसम्म प्रवेश गरे पनि कतिपय भाग पूर्णरूपमा टालिएकाले खोजी कठिन भएको छ ।

नदीमा बालुवा, हिलो र लेदो थुप्रिएर पानीको सतह बढेपछि भूमिगत विद्युत् गृहमा रहेका ६ जना कर्मचारी सम्पर्कविहीन छन् । साइट कार्यालयमा रहेका ७१ जना भने भागेर सुरक्षित भएका थिए ।

रसुवागढीमा उद्धार कठिन

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा पनि ९३ जना सम्पर्कविहीन छन् । भूमिगत विद्युत् गृहमा प्रवेश गर्ने सुरुङको मुख नजिक हेलिकप्टर अवतरण गर्न सुरक्षित स्थान नहुँदा उद्धारमा थप समस्या भएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ ।

पर्वतारोही शेर्पाको समूह परिचालन गरी खोजीलाई तीव्र बनाउने तयारी भइरहेको छ । लगातार वर्षा, नदीको उच्च बहाव र जमिन कटानका कारण उद्धार कार्य प्रभावित भइरहेको आयोजनाका अधिकारीहरूले बताएका छन् ।

२१६ घण्टापछि जीवित उद्धार

भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत संरचनामा फसेका व्यक्तिको खोजी अझै जटिल बनेको छ । कतिपय सुरुङ लेदो र ढुंगाले पुरिएका छन् भने केही आयोजनामा पहुँचमार्गसमेत बाढीले बगाएको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’बाट २१६ घण्टापछि दुई कर्मचारीको जीवित उद्धार भएपछि अन्य आयोजनामा फसेका व्यक्तिका परिवारमा पनि आशा बढेको छ । उद्धार टोलीले भारी उपकरण, प्राविधिक प्रविधि र वैकल्पिक पहुँचमार्ग प्रयोग गर्दै खोजीलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार