२०८३ असोज ७ , बुधबार (2026 Sep 23, Wednesday)

राउटे मुखियालाई मातृशोक 



मृतक फलाँटो शाही

दैलेख – फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका मुखिया प्रकाश शाहीलाई मातृशाेक परेकाे  छ । सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोलास्थिर राउटे बस्तीमा राउटे मुखियाकी आमा फलाँटो शाहीको निधन भएको राउटे उत्थान परियोजनाका जाेडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो ।

राउटे समुदाय पछिल्लो दुई महिनादेखि सोही क्षेत्रमा बसोबास गर्दै आएको छ । फलाँटो शाहीको निधनसँगै राउटे समुदायको जनसंख्या घटेर १ सय ३२ पुगेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार राउटे समुदायको जनसंख्या १ सय ४५ रहेको थियो ।

हरेक दुई-तीन महिनामा बस्ती सार्दै हिँड्ने परम्पराका कारण नियमित स्वास्थ्य सेवा पुग्न कठिन हुने, प्रजनन उमेर समूहमा जन्मदर घट्दै जानु र पछिल्लो समय मदिरा सेवनको कुलत बढ्दै जानुजस्ता कारणले राउटे समुदायको जनसंख्या निरन्तर घटिरहेको सरोकारवालाले बताएका छन् ।

२०५८ मा एक सय ८० जना, २०६८ को जनगणनामा एक सय ६६ जना जनसंख्या रहेको राउटे समुदायको बारे पहिलो पटक गुराँस गाउँपालिकाले संकलन गरेको तथ्यांक गर्दा २०७४ असारमा एक सय ४९ जना र २०७८ काे राष्ट्रिय जनगणना २०७८ एक सय ४५ जना थियाे।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार